गुल्मी- बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालिचौर ताहालाका बालकृष्ण अर्यालले आफ्नो सक्रिय जीवन शिक्षण पेसामा बिताए। जीवनको 'उर्वर' समयमा चक घोटेर विद्यार्थीको भविष्य बनाएका उनी उमेरले ७४ वर्ष पुगेपछि भने कुटो-कोदालो चलाउन तम्सिएका छन्- त्यो पनि नयाँ प्रकारको फल (ड्रागन फ्रुट)को खेती गर्न।
ड्रागनको खेती सस्तो छैन। सुरुमै करिब ११ लाख रुपैयाँ जति खर्च गरिसकेका छन्। तर, 'बुढेसकाल'मा चलेको जाँगरले उनलाई त्यत्तिकै बस्न पनि दिएको छैन।
अर्यालले गुल्मीको मुसिकोट नगरपालिका-१, भर्माचौरमा रहेको आफ्नै पाँच रोपनी जग्गामा व्यावसायिक रुपमा ड्रागन खेती थालिसकेका छन्।
'जीवनको ३७ वर्ष शिक्षण पेसामा बित्यो। त्यतिबेला केही गर्छु भनेर खोज्दा पनि पेसा छाड्न मन लागेन। अवकाश पाइसकेपछिको जीवनमै भए पनि केही नयाँ गर्नुपर्यो भनेर ड्रागनको खेती थालेको छु,' अर्याल भन्छन्।
आफ्नो नयाँ सोचलाई अगाडि बढाउनका लागि उनले 'रचेबाराजियल ड्रागन प्यासन फलफूल विकास परियोजना' नामबाट मुसिकोट नगरपालिकामा फर्म दर्ता गरिसकेका छन्।
घरमै नर्सरी जमाएर उनले ड्रागनका बिरुवाहरु हुर्काइसकेका छन्। अहिले ती बिरुवालाई बारीमा पनि सारिसके।
२६५ वटाजति सिमेन्टका पिल्लर बनाएर पिलरका चारै भागमा गरी एक हजार ६० वटा ड्रागनका बिरुवाहरु रोपेका छन्। अब भने बारीको वरिपरि तारबार लगाउने र सिँचाइको बन्दोबस्त गर्न बाँकी रहेको उनले सुनाए। त्यसका लागि करिब नाै लाख रुपैयाँ अझै खर्च हुने उनको अनुमान छ।
पहाडी क्षेत्रमा ड्रागन खेतीको प्रचुर सम्भावना रहेको अर्याल बताउँछन्। अहिले आफूले रोपेको बिरुवाले कम्तीमा पनि २० वर्षसम्म फल दिने उनको भनाइ छ।
फल लाग्न थालेपछि बजारको पनि समस्या नहुने उनी बताउँछन्। 'नेपालकै ठूला होटल र सुपरमार्केटमा महँगो मूल्यमा ड्रागन फल बेच्न सकिन्छ,' उनी भन्छन्, 'विदेशमा बेच्न पनि गाह्रो छैन।'
अहिले बारीमा रोपिएका बिरुवाले एक वर्षपछिदेखि फल दिन सुरु गर्ने उनले बताए। सुरुआतको उत्पादनलाई स्थानीयस्तरमै खपत गर्ने उनको सोच छ। पछि विस्तारै नेपालकै ठूला सहर र विदेशमा पनि निर्यात गरिने उनले सुनाए।
शिक्षण पेसामै संलग्न हुँदा पनि उनी घरमा तरकारीदेखि नयाँ नयाँ प्रकारका फलफूल खेती गरिरहन्थे। तर, अहिले आफ्नो पूर्ण समय दिन सकिने भएकाले ड्रागन खेती थालेको उनको भनाइ छ।
औषधीय गुणयुक्त फल भएकाले ड्रागनको बजार पाउन समस्या नहुने उनले बताए। 'अहिले धेरै मानिसलाई यो फलबारे थाहा छैन। जब सबैलाई थाहा हुन्छ मान्छेले किन्न सुरु गर्छन्। यसको बजार पाउन समस्या हुँदैन,' अर्याल भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।