विराटनगर– चोरीको धनमालसहित मोरङ प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय अनिल कुमार यादव छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका-८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट मंगलबार राति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको थियो।
आफ्नो घरबाट नगद र चाँदीको सिक्री चोरी भएको भन्दै राजकुमारले उजुरी दिएपछि प्रहरीले लुटपाटमा संलग्नको खोजी शुरु गरेको थियो। लुटेराको खोजी गर्ने क्रममा शंकाको आधारमा प्रहरीले अनिल कुमारलाई पक्राउ गरेको थियो।
बुधबार बिहान पक्राउ परेका अनिलको घरमा तलासी गर्ने क्रममा चोरीको नगद ५० हजार रुपैयाँ र चाँदीको सिक्री फेला परेको प्रहरीले जानकारी दिएको छ।
लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ परेका अनिलमाथि चोरीको कसूरमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।