मस्को- रुसको मस्कोस्थित एक अदालतले निर्वाचनकाे मुखैमा राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको राजनीतिक संगठनमाथि प्रतिबन्ध लगाएको छ।
बुधबार जारी गरिएको अदालतको आदेशमा नाभाल्नीको क्षेत्रीय सञ्जाल कार्यालय र उनको भ्रष्टाचारविरोधी संस्थालाई प्रतिबन्ध लगाइएको उल्लेख छ। साथै उक्त संगठनलाई ‘चरमपन्थी’ भएको बताएको छ।
‘उक्त संगठनले केवल सरकारी अधिकारीको विरुद्ध सूचना प्रसारित गरेर घृणा र दुश्मनी फैलाउने काम गरिरहेको पाइएको छ। त्यसैले अदालत यस्तो फैसाला सुनाउन बाध्य भएको हो,’ अदालतका प्रवक्ता एलेक्सेई जावयारोफले भने।
रुसमा आगामी सेप्टेम्बरमा संसदीय निर्वाचन हुँदैछ। निर्वाचनको मत सर्वेक्षणले सत्तारुढ दलले आफ्नो विश्वास गुमाइरहेको देखाएको छ। नाभाल्नीका केही समर्थक निर्वाचनमा भाग लिने तयारीमा छन्।
यद्यपि, यो संगठनमा काम गर्ने कुनै पनि कार्यकर्तालाई अब जेल सजाय हुनसक्ने प्रवक्ता जावयारोफले जानकारी दिए। ‘कोही व्यक्तिले नाभाल्नीको राजनीतिक सञ्जालको समर्थन गरे उनीहरुलाई सार्वजनिक पदका लागि पनि प्रतिबन्धित गर्न सकिनेछ,’ उनले भने।
यता नाभाल्नीका वकिलले अदालतको यो आदेशविरुद्ध अपिल गर्ने बताएका छन्।
नाभाल्नी अहिले जेलमा छन्। उनीमाथि धोकाधडीको मुद्दामा लगाइएको शर्त पालना नगरेको आरोप छ। यद्यपि, नाभाल्नीले भने यो आरोप राजनीतिक पूर्वाग्रहको कारण लगाइएको बताएका छन्।
अदालतको यस्तो निर्णपछि सामाजिक सञ्जालमा लेख्दै उनले ‘पछि नहट्ने’ बताएका छन्। यद्यपि, उनले आफ्ना समर्थकहरुलाई आफ्नो काम गर्ने तरिका बदल्नु आवश्यक रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।