काठमाडौं- 'गुण्डागर्दी' पृष्ठभूमिबाट राजनीतिमा आएका गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बिहीबार कास्कीको पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको हो। लामालाई अहिले इलाका प्रहरी कार्यालय बैदाममा राखिएको छ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सोधुपछका लागि लामालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ। गुण्डा नाइके भनेर चिनिएका लामा पछिल्लो समय नेपाली कांग्रेससँग आवद्ध छन्।
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएको थियो। साेही अनुसार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राेखका उनले विश्वासको मत पाउन सकेनन्। प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत रहेका राजीव गुरुङ (दीपक मनाङे) बिहीबार बिहानैदेखि सम्पर्कविहीन भएका थिए। उनी प्रदेश सभा बैठकमा सहभागी समेत भएनन्।
कतिपयले मनाङे लामासँगै रहेको अनुमान पनि गरेका थिए। मनाङे समेत यसअघि गुण्डा नाइके भनेर चिनिने गरेका थिए। तर, कास्की प्रहरीले भने मनाङे सम्पर्कविहीन हुनुसँग लामाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।