काठमाडाैं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपियनहरुलाई छुट्टीको मौसममा जिम्मेवार भई यात्रा गर्न आग्रह गरेको छ।
यसै सातादेखि ठूला खेलकुदका उत्सवहरु शुरु हुने भएका कारण कोरोनाको जोखिम बढ्ने भन्दै डब्ल्यूएओले उक्त चेतावनी दिएको हो।
‘युरोप कोरोना माहामारीको खतराबाट बाहिर आइसकेको छैन। बढ्दो सामाजिक जमघट, बढ्दो जनसंख्या गतिशीलता, आगामी दिन तथा हप्ताहरूमा हुने ठूला उत्सवहरू अर्थात खेलकुद प्रतियोगिताले कोरोना संक्रमण फैलाउने खतरा छ,’ डब्ल्यूएचओ युरोपियन प्रमुख हन्स क्लुगेले भने।
युरोपमा कोरोना संक्रमणदर घट्दै आएको छ। पछिल्ला दुई महिनामा युरोपमा मृत्यु र अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि कमी आएको छ। ५३ देशमध्ये ३६ देशले लगाइएको प्रतिबन्ध खुकुलो बनाएका छन्।
‘हामी सबैले यस क्षेत्रका अधिकांश देशहरुमा भएका प्रगतिलाई मान्यता दिनुपर्दछ। तर, हामीले यो पनि स्वीकार्नु पर्दछ कि हामी कुनै हालतमा खतराबाट मुक्त छैनौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।