काठमाडाैं- युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकपको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता शुक्रबारबाट शुरु हुँदैछ।
प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ। शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो।
एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ। त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो।
प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ। कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ।
प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन्। ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।
अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरोकपको उपाधि जितेको छ। सन् १९७२ र १९८० पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ उपाधि जितेकाे थियाे।
यस्तै, स्पेनले १९६४, २००८ र २०१२ मा युराेकप जितेकाे थियाे। यस्तै, फ्रान्सले दुई पटक उपाधि जितेकाे छ। १९८४ र २००० मा फ्रान्सले उपाधि जितेकाे थियाे।
यस्तै, सोभियत संघ (१९६०), इटली (१९६८), चेकोस्लोभाकिया (चेक रिपब्लिक १९७६), नेदरल्याण्ड्स (१९८८), डेनमार्क (१९९२), ग्रीस (२००४) र पोर्चुगल (२०१६) एक/एक पटक विजेता बनेका छन्।
जर्मनीले अहिलेसम्म सर्वाधिक १२ पटक युरो खेल्दा ६ पटक फाइनल खेलेको थियो। जसमा तीन पटक भने उपविजेता बनेको थियो। स्पेन, इटली र फ्रान्सले यसअघि आयोजक रहँदा उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।