काठमाडौं– विपक्षी गठवन्धनका ४ जना शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै मन्त्रिपरिषद् विस्तार गरेको विषयमा छलफल भएको छ।
बिहीबार अपराह्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा विपक्षी गठवन्धनका नेताहरुको छलफल भएको थियो।
बिहीबारको छलफलमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
बैठकमा सहभागी एक नेताले काम चलाउ सरकारका प्रधानमन्त्रीले आफूला मन लागेका व्यक्तिलाई 'टिप्दै' मन्त्री बनाउनु ठीक होइन भन्ने निष्कर्ष निकालिएको जानकारी दिए।
'ओलीजीले प्रतिनिधि सभा विघटन गरेपछि पनि एकपछि अर्को गर्दै मन्त्रीपरिषद् विस्तार गरेको बिषयमा छलफल भयो,' बिहीबारको बुढानीलकण्ठ बैठकमा सहभागी भएका ती नेताले भने, 'काम चलाउ सरकारका प्रधानमन्त्रीले यसरी आफूलाई मन लागेका मान्छेलाई टिप्दै मन्त्री बनाउनु ठीक होइन भन्ने निष्कर्ष निकालियो।'
छलफलमा प्रदेश सरकारका बिषयमा समेत समीक्षा भएको ती नेताले जानकारी दिए। प्रदेशमा समेत ओलीविरुद्ध कसरी जान सकिन्छ भनेर छलफल भएको ती नेताको भनाइ छ।
'प्रदेशमा पनि ओलीविरुद्ध कसरी जान सकिन्छ, अझ ५ दल कसरी मजबुद भएर जाने भन्ने बिषयमा छलफल भयो,' ती नेताले भने, 'संघीय सरकारदेखि प्रदेश सरकारका बिषयमा छ्लफल भयो। ५ दल साझा कार्यक्रम र नीति बनाएर जाने बिषयमै केन्द्रित भइ छलफल भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।