काठमाडौं– प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट स्वतः पदमुक्त भएका पृथ्बी सुब्बा गुरुङले आफ्नो मन्त्रिपरिषद्का युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई ‘पदमुक्त’ गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै मनाङेलाई पदमुक्त गरिएको गुरुङले जनाएका छन्।
मुख्यमन्त्रीबाट पदमुक्त गुरुङले संविधानको धारा १६९ को उपधारा (२) अनुसार मनाङेलाई पदबाट मुक्त गरिएको बताएका छन्।
यसअघि मनाङे स्वयंले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि नैतिकताले समेत पदमा बस्न नमिल्ने भन्दै मनाङेले राजीनामाको घोषणा गरेका थिए।
मनाङेले राजीनामाको घोषणा गरेको केही समयपछि गुरुङको सचिवालयले उनलाई पदमुक्त गरिएको विषय सार्वजनिक गरेको हो।
गुरुङ संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने ठूलो दलको नेताका आधारमा वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। धारा १६८ को (३) अनुसार नियुक्त मुख्यमन्त्रीले १ महिना भित्रै विश्वासको मत लिनुपर्ने धारा १६८ को (४) अनुसार उनले प्रदेश सभामा विश्वासको मत मागेका थिए।
प्रदेश सभामा बहुमत सिद्ध गर्न ३१ जना सांसदको समर्थन आवश्यक पर्नेमा बिहीबार गुरुङको पक्षमा २७ जना सांसदले मात्रै मतदान गरे। गुरुङको विपक्षमा ३० जना सांसदले मतदान गरे। प्रदेश सभामा उपस्थित भएका १ सांसद भने तटस्थ रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।