बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। यसैबेला बाह्य र प्रतिष्ठान भित्रैबाट पनि पदाधिकारीहरूको आलोचना भइरहेको छ। प्रतिष्ठानको खस्किँदो गुणस्तर र प्रतिष्ठा वर्तमान समस्या नभई विगत पाँच/छ वर्षयतादेखिकै समस्या हो। नि:स्वार्थ प्रतिष्ठानको हितमा काम गर्न खोज्ने व्यक्तिको कमी, आन्तरिक टकराव, गुटगत राजनीति, आ-आफ्ना व्यक्तिगत स्वार्थ र पदाधिकारीको भ्रष्ट मानसिकता नै अहिलेसम्मकै मूल समस्या हो।
आर्थिक लेनदेन तथा राजनीतिक जोड घटाउबाट प्रवेश भएका पदाधिकारीहरु र स्वार्थका निम्ति लबिङ गर्ने मातहतका कर्मचारीहरुको संकिर्ण सोचाइको प्रतिफल हो- आजको प्रतिष्ठान। कयौं भ्रष्टाचार काण्डहरु अदालतमा विचाराधीन अवस्थामा छन्, जुन प्रतिष्ठानको अस्मिता र प्रतिष्ठासँग जोडिएका विषयहरू हुन्।
निरन्तर चलिरहेको पदाधिकारीहरूबीचको संघर्ष, चरम आर्थिक चलखेल, पदाधिकारीदेखि कर्मचारी वृत्तसम्म देखिएको व्यापक अनियमितता, शैक्षिक कार्यक्रम भताभुंग, अनुशासनहीनता, अपारदर्शी र गैरजिम्मेवार नेतृत्व यस प्रतिष्ठानका वर्तमान चुनौती हुन्। प्रतिष्ठानका नियमित उपचारका कार्यहरू पूर्णरूपमा सञ्चालन हुन नसक्नु र विभिन्न बहानामा बिरामीलाई उपचारका निम्ति निजी अस्पतालहरुमा रेफर गरिँदा प्रतिष्ठान आर्थिक संकटबाट गुज्रिरहेको छ।
यसका साथै राजनीतिक दलका नेता र कार्यकर्ताले समाजको हितभन्दा पनि व्यक्तिगत लाभ र गुटगत फाइदाका लागि कुनै पदाधिकारीलाई काखी च्याप्ने र 'फुटाऊ र राज गर' भन्ने सिद्धान्त अवलम्बन गरिनु नै प्रतिष्ठान विकासको मुख्य बाधक हो। प्रतिष्ठानभित्रको फोहोरी राजनीति र धमिलो राजनीतिमा माछा मार्न माहिर व्यापारिक गिरोह प्रतिष्ठान विकासको बाधक हो भने सक्षम र आटिलो नेतृत्व आजको आवश्यकता हो।
आफ्नो पार्टी वा स्वार्थनिकट व्यापारी/ पदाधिकारी/ चिकित्सक/ कर्मचारीको गलत कामको प्रतीरक्षा गर्ने परिपाटी प्रतिष्ठानभित्र र बाहिर व्यापक छ। फलस्वरूप तीन दशक लामो इतिहास बोकेको प्रतिष्ठान दिनानुदिन झन्झन् धराशायी बन्दै गइरहेको छ। विगत पाँच वर्षदेखिको मेरो अनुभव र भोगाइले प्रतिष्ठानको खस्किँदो गुणस्तर र प्रतिष्ठाको मुख्य जिम्मेवार प्रतिष्ठान प्रशासन र माथिल्लो तहका पदाधिकारीहरु नै हुन्। प्रतिष्ठानभित्रका विभिन्न स्वतन्त्र पेसागत संगठनहरू, कर्मचारी, विभिन्न विभागका विभागीय प्रमुखहरू पनि कुनै न कुनै रुपमा भ्रष्टाचारको पक्षधर जस्तै देखिन्छन्। व्यक्तिगत फाइदाका निम्ति पदाधिकारीको गुटगत पक्षपोषण गर्नु र आफू मौन रहनुले यही संकेत गर्छ।
विश्व नै अत्याधुनिक प्रविधिको उपयोगले नवीनतम ज्ञान आर्जन गर्दै गरेको परिवेशमा प्रतिष्ठानमा भने अझै इन्टरनेटको सेवाका निम्ति संघर्ष गर्नुपर्ने बाध्यता छ।
पदाधिकारीबाट ठोस निर्देशन नहुनु, कर्मचारीतन्त्रको व्यवस्थापन र नियमित अनुगमन नहुनु, कार्यसम्पादनमा ढिलासुस्ती गर्ने व्यक्तिमाथि कारबाही अगाडि नबढाइनु, प्रतिष्ठानको तलब खाएर कार्यालय समयमा आफ्नो व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुमाथि छानबिन र कारबाही नहुनु प्रतिष्ठान प्रशासनको कमजोरी हो।
विद्यार्थीहरूले अध्ययनको क्रममा शिक्षण क्रियाकलापका निम्ति भनेर प्रतिष्ठानले तोकेको सम्पूर्ण शुल्क बुझाउँदा पनि विभागहरुले उपलब्ध गराउनुपर्ने न्यूनतम सामग्रीहरु समेत विद्यार्थीहरूलाई किन्न बाध्य पारिएको अवस्था छ। विश्व नै अत्याधुनिक प्रविधिको उपयोगले नवीनतम ज्ञान आर्जन गर्दै गरेको परिवेशमा प्रतिष्ठानमा भने अझै इन्टरनेटको सेवाका निम्ति संघर्ष गर्नुपर्ने बाध्यता छ।बिजुलीबत्ती, गुणस्तरीय खाना र सरसफाइजस्ता सामान्य न्यूनतम कुराका निम्ति पदाधिकारीको कार्यकक्षमै तालाबन्दीसम्मको संघर्ष गर्नु लज्जाको विषय हो।
प्रतिष्ठानको केन्द्रीय पुस्तकालयमा बजारमा आएका नयाँ संस्करणका पुस्तकहरूको अभाव लामो समय अघिदेखिकै समस्या हो। शैक्षिक क्षेत्रका विज्ञहरूको भिजन, मिसन र गोलरहित प्रयास र युग सुहाउँदो शैक्षिक कार्यक्रमको अभाव शैक्षिकस्तर खस्किनुको मूल जड हो। सीमित कक्षाहरू सञ्चालनका भरमा अहिलेको प्रविधियुक्त समाजमा प्रतिस्पर्धा गर्न निकै कठिन छ। प्रतिष्ठानमा उपकरण र प्रविधिको अभाव, नयाँ प्रविधिप्रतिको न्यून चासो, परम्परागत शैक्षिक प्रणाली, खोज अनुसन्धानमा व्यापक प्रयास नहुनु र सरोकारवाला पक्षहरुको अल्छिपना र ढिलासुस्ती शैक्षिक विकासको बाधक हो।
आधुनिक चिकित्सा पद्धतिमा एसियाकै नमूना प्रतिष्ठानलाई अध्ययन अध्यापन, खोज अनुसन्धान र प्रविधियुक्त उपचार सेवा पाउनुपर्नेमा न्यूनतम उपकरण र स्रोत साधनको अभावले बीपी प्रतिष्ठानबाट बिरामीहरू निजी अस्पतालमा रेफर हुँदा उनीहरू महँगो मूल्यमा उपचार गराउन बाध्य छन् भने समयमै उपचार नपाउँदा कतिपय बिरामीको अकालमै मृत्यु हुने गरेको छ। यसको लेखाजोखा कसले राख्ने? आखिर जिम्मेवार को?
स्वास्थ्य सेवाजस्तो संवेदशील क्षेत्रमा आन्तरिक स्रोत साधनको समयमा मर्मत सम्भार नहुनु, पर्याप्त उपकरणको अभाव, ल्याब परीक्षण जस्ता समस्याहरू बिरामीको प्रत्यक्ष जीवनसँग जोडिएका विषयहरू हुन्। यो प्रतिष्ठानको आर्थिक समस्यासँग पनि जोडिएको विषय हो। लामो समयदेखि डिजिटल रडियोग्राफी मेसिन, अप्थाल्मोलोजी, रेटिनालगायत आँखाको जाँच गर्ने मेसिन, दन्त चिकित्सा महाविद्यालय (डेन्टल) को दाँत बनाउने क्याड क्याम, दाँतको एक्सरे गर्ने लेटरल सेफ्यालोग्राफ मेसिन, फार्माकोलोजी विभागको एचपीएलसी मेसिनल, प्याथोलोजी विभागको लागि पाँच वर्षअघि खरिद गरिएको इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिन, लगायत प्रयोगशालामा रगतको जाँच गर्ने कम्पोनेन्ट सेपेरेटर बिग्रेर थन्किएका छन्।
आधुनिक चिकित्सा पद्धतिमा चिकित्साशास्त्रको अध्ययन, अनुसन्धान र बिरामी उपचार सेवालाई प्रभावकारी बनाउन एमआरआई, सीटी स्क्यान, इमुनोहिस्ट्रोकेमेस्ट्री, डिजिटल रडियोग्राफी डेण्टल चियर, भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत उपकरणहरु अत्यन्त आवश्यक हुन्छ। विधार्थीहरुको अनुपातअनुसार डेन्टलका हरेक विभागका चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबमोजिम डेन्टल चियर हुनुपर्नेमा सबै विभागमा गरेर मुस्किलले १५ वटा डेन्टल चियर मात्र सञ्चालनमा छन्।
जसका कारण बिरामीले महिनौं पालो कुर्नुपर्ने बाध्यातासँगै गुणस्तरीय सेवा पाउनबाट वञ्चित छन्। दुई दशक पुराना डेण्टल चियर पदाधिकारीबीचमा कमिसनको खेल नमिलेका कारण प्रतिस्थापन भएको छैन, जसको प्रत्यक्ष असर विद्यार्थीको पठनपाठन र बिरामीको स्वास्थ सेवामा त परेको नै छ, सँगै प्रतिष्ठानको आर्थिक पक्षसँग पनि प्रत्यक्ष सरोकार राख्दछ।
अहिलेसम्म यस प्रतिष्ठानलाई खराब उपकरण, सामान सप्लाइ गर्ने, उपकरणको नियमित मर्मतसम्भार गर्न आनाकानी गर्ने र अदालतमा मुद्दा परेका कम्पनीलाई उचित दण्डित गर्ने तथा कालो सूचीमा राखेर भविष्यमा कारोबार नगर्ने, प्रतिष्ठानका विभिन्न विभागमा थन्केर बसेका उपकरणको निष्पक्ष छानविन गर्ने र उचित समाधानको निकास खोज्न सक्ने नेतृत्व चाहिएको छ।
आन्तरिक समस्या समाधान हुन नसक्दा दक्ष जनशक्ति पलायन हुने सम्भावना उत्तिकै देखिन्छ जुन प्रतिष्ठानको दुर्भाग्य हो। विगतमा भौतिक, आर्थिक र शैक्षिक रुपमा अग्रस्थानमा रहेको प्रतिष्ठान दिनहुँजसो नकारात्मक कुराहरूले शीर ठाडो पार्न सकिने अवस्थामा छैन। जसको मुलभूत कारण आन्तरिक समस्या समाधान नहुनु र पदाधिकारीकोबीचको द्वन्द नै देखिन्छ।
प्रतिष्ठानभित्रका विभिन्न समस्याहरू समाधानका निम्ति पदाधिकारीसँग समय समयमा संघर्ष, संवाद र सहमतिहरू नभएका भने होइनन् तर, सरोकारवाला पक्षको बेवास्ताका कारण आजको परिस्थिति सिर्जित भएको हो। जुन बाह्य हस्तक्षेपको निम्ति सुनौलो अवसरका रुपमा फस्टाएको छ।
यस अवस्थामा कुनै पनि समूहमाथि निरपेक्ष विश्वास गरिहाल्नुपर्ने कुनै ठोस र बलियो आधार छैन। निश्चित समूहसँगको वार्ता (राजनीतिक समूह) र जिम्मेवार व्यक्तिको पुरानै शैलीको आश्वासनले दीर्घकालीन समाधान दिन सक्दैन। कुनै व्यक्ति अर्थात् समूहप्रति आग्रह पूर्वाग्रह नराखी प्रतिष्ठानको वास्तविक गहिराइ नियालेर सार्वजनिक रुपमा उठेका प्रश्नहरूको दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ।
यसका निम्ति प्रतिष्ठानसँग प्रत्यक्ष सरोकार राख्ने गैरराजनीतिक पूर्णअधिकारसहितको समितिले मात्रै प्रतिष्ठानको सत्य-तथ्य वास्तविकता अध्ययन गरेर साझा अवधारणा र सर्वमान्य निकास दिनसक्छ। प्रतिष्ठानका विभिन्न विभागमा सेवाको गुणस्तर कसरी बढाउन सकिन्छ र कसरी वा कसले बाधा पुऱ्याइरहेको छ भन्ने कुराको निष्पक्ष छानविन गरिनुपर्ने आजको आवश्यकता हो।
अहिलेसम्म यस प्रतिष्ठानलाई खराब उपकरण, सामान सप्लाइ गर्ने, उपकरणको नियमित मर्मतसम्भार गर्न आनाकानी गर्ने र अदालतमा मुद्दा परेका कम्पनीलाई उचित दण्डित गर्ने तथा कालो सूचीमा राखेर भविष्यमा कारोबार नगर्ने, प्रतिष्ठानका विभिन्न विभागमा थन्केर बसेका उपकरणको निष्पक्ष छानविन गर्ने र उचित समाधानको निकास खोज्न सक्ने नेतृत्व चाहिएको छ।
यस परिप्रेक्ष्यमा अहिले सक्रिय अभियानमा रहेको नागरिक समाजबाट प्रतिनिधि, प्रतिष्ठानका शिक्षक, कर्मचारी, विद्यार्थी, भूतपूर्व विद्यार्थी, स्थानीय बुद्धिजीवी सम्मिलित उच्चस्तरीय प्रतिष्ठान सुधार समिति बनाउनु आवश्यक देखिन्छ। यस समितिले निश्चित समयभित्र प्रतिष्ठानका विभिन्न समस्या सम्बन्धमा गहिरो अध्ययन गरी तथ्यगत प्रतिवेदन बनाउने र तत्काल सार्वजनिक गरी उक्त प्रतिवेदन पदाधिकारीहरुले नि:सर्त पालना/लागू गर्न तयार भएको खण्डमा मात्रै प्रतिष्ठानले दीर्घकालीन निकास पाउनसक्छ।
प्रतिष्ठानको तहबाट हल गर्न नसकिने समस्या/कार्यक्रम सम्बन्धमा सम्पूर्ण सरोकारवालाहरुको दबाब समूह बनाइ स्थानीय राजनीतिक दलको साथ लिएर केन्द्र र संघीय सरकारलाई निरन्तर दबाब दिने वातावरण बनाउन सकिन्छ।
मैले प्रतिष्ठानको भाग्य र भविष्यका निम्ति निरन्तर विचार र कलम संघर्षका माध्यमबाट आवाज उठाइरहेको छु। म यसलाई जारी नै राख्ने छु, जबसम्म मेरो परिकल्पनाको बीपी प्रतिष्ठान बन्दैन।
(विष्ट अहिले प्रतिष्ठानमा इन्टर्नसिप गर्दै छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।