सिन्धुपाल्चोक– गत मंगलबार इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका-१० का धर्म दुलालको घरखेत बगायो।
बाढीले उनीसहित मेलम्ची-इन्द्रावती नदी तटिय क्षेत्रमा बस्ने कयौंको घर खेत बगाएको थियो। लगातार बाढी आउने क्रम नरोकिएपछि मंगलबार बाढीले कटान गरेर बाँकी रहेको जमिन र भौतिक संरचना पुन: बगाउन थालेसँगै त्यसलाई रोक्नका लागि नगरपालिका र स्थानीयले प्रयास गरिरहेका थिए।
बाढीले गरिरहेको कटान रोक्नका लागि जोखिमयुक्त क्षेत्रमा ढुंगा र जाली हाल्ने र सम्भावित कटान रोक्न दुलाल पनि लागिरहेका थिए।
त्यसका लागि उनी सोमबार बिहान मेलम्ची -१० माझीबस्ती भन्दा तल रहेको आफूले चलाउने गरेको स्काभेटर लिन गए। तर, उनी फर्किएनन्।
बाढीले क्षति पुर्याएसँगै सडकमा लडिरहेको बिजुलीको पोलमा छुन पुगेका उनको करेन्ट लागेर घटनास्थलमै ज्यान गयो। उनीसँगैका अर्का एक व्यक्ति करेन्ट लाग्दा गम्भीर घाइते भएका छन् र उपचारका लागि उनलाई अस्पताल लगिएको छ।
प्रत्यक्षदर्शी टेकबहादुर तामाङका अनुसार शिखरपुर-नवलपुर तर्फ लगिएको फलामे पोललाई इन्द्रावतीको बाढीले क्षति पुर्याएको थियो। 'सडकमा ढलेको बिजुलीको पोलमा करेन्ट आएको रहेछ, थाहा भएन र यस्तो दुर्घटना हुन पुग्यो,' उनले भने।
उनले बाढीले पोलहरु सडकमा लडाएको थाहा पाउँदापाउँदै त्यसलाई नउठाइ ११ हजार भोल्ट करेन्ट छोड्ने नेपाल विद्युत प्राधिकरणका कारण दुलालले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखे।
असार १ गते मेलम्ची र इन्द्रावती नदीमा भीषण बाढी आउँदा तीन जनाले ज्यान गुमाएका छन् भने २० जना वेपत्ता रहेका छन्। बाढीले मेलम्ची र हेलम्बुसम्मका ढलान तथा झोलुङ्गे पुल, प्रहरी चौकी, विद्यालय, निजी आवास, रिसोर्ट तथा फार्महरु बगाएको छ भने नदी किनारमा रहेका खेलहरु बगाएको छ। मेलम्ची, तालामाराङ, चनौटे लगायतका बजारलाई बगरमा परिणत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।