हेटाैँडा- बागमती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ।
समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरिएको हो।
सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण तयार गरी न्यूनीकरणमा प्रदेश सरकारलाई आवश्यक मार्गदर्शन गर्न विभिन्न उपसमिति गठन गरिएको बताए।
यस्तै, समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्यांक माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रुपमा विवरण संकलन गर्ने निर्णय गरेको छ।
प्रदेशभित्रका सबै जिल्लामा सरकारले गरेको यथार्थ खर्चको विवरण १५ दिनभित्र प्राप्त हुने गरी माग गर्ने निर्णय भएको समितिले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।