काठमाडौं– नेपाली कांग्रेसबाट दोस्रो चरणमा मन्त्री हुनेमा ४ जना नेताको नाम चर्चामा रहेको छ। पार्टी भित्रका गुटलाई मिलाउने गरी मन्त्रीका लागि भागबन्डा गर्न लागिएको छ।
मन्त्रीका लागि डा मीनेन्द्र रिजाल, दीलेन्द्र प्रसाद बडु, पुष्पा भुसाल र उमाकान्त चौधरीको नाम चर्चामा रहेको छ।
पहिलो चरणमा मन्त्रिपरिषद् गठन हुँदा नै रिजाल मन्त्री हुने चर्चा थियो। तर, उनलाई दिने मन्त्रालयको विषयमा कुरा नमिल्दा प्रधानमन्त्री देउवाले आफ्नो पार्टीबाट २ जना मात्रै बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई मन्त्री बनाएका थिए।
पार्टी भित्रको गुटगत राजनीतिमा रिजाल महामन्त्री डा शशाङ्क कोइराला निकट छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता बडु मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ।
प्रतिनिधि सभामा सचेतक रहेकी भुसाललाई पनि मन्त्रीमण्डलमा सहभागी गराउन लागिएको छ। उनी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट सांसद हुन्।
पार्टीको तेस्रो समुहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन लागिएको कांग्रेस स्रोतले जानकारी दिएको छ। उनी कृष्णप्रसाद सिटौला निकट सांसद हुन्। गत निर्वाचन पछिको संसदीय दलको नेता चयन गर्ने क्रममा चौधरीले सभापति देउवाको पक्षमा मत दिएका थिए।
गृहमन्त्री बालकृष्ण खाँणको जिम्मेवारीमा रहेको प्रमुख सचेतकको जिम्मेवारी मीन विश्वकर्मालाई दिन लागिएको छ। उनी देउवा निकट सांसद हुन्। महाधिवेशन केन्द्रित रहेर धेरै नेताको व्यवस्थापन गर्नु पर्ने भएकाले मन्त्रीको दाबी नगरेको बिश्वकर्माले बताए।
मन्त्रीको चर्चामा रहेका रिजाल, बडु, चौधरी पहिले पनि मन्त्री भइसकेका नेता हुन्। बडुले विगतमा पार्टी प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
रिजाल र चौधरी गत निर्वाचनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। बडु र भुसाल भने समानुपातिक सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।