काठमाडौं– झण्डै साढे ५ किलो चाँदीका गहनासहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–२ मेघरा घर भइ हाल चितवनको खैरहनी नगरपालिका–२ मा श्रीया ज्वेलर्स चलाउँदै आएका ४३ वर्षीय अंगत साह छन्।
प्रहरीका अनुसार साह बुधबार बिहान पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटको बाटोमा पैदल हिँडिरहेका थिए। उनले बोकेको कालो रंगको झोला शंकास्पद लागेपछि प्रहरीले रोकेर तलासी लिएको थियो।
तलासीको क्रममा झोलामा ५ किलो ३३४ ग्राम चाँदीका गहना फेला परेका जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। पक्राउ परेका साहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।