काठमाडौं- ब्राजिलियन फुटबलर मार्टाले लगातार पाँच ओलम्पिकमा गोल गर्ने नयाँ कीर्तिमान बनाएकी छन्।
टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबल अन्तर्गत चीनविरुद्ध गोल गर्दै दुई गोल गर्दै उनले उक्त कीर्तिमान बनाएकी हुन्।
योसँगै मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने महिला र पुरुषमै पहिलो खेलाडी बनेकी छन्।
समूह ‘एफ’ अन्तर्गत चीन विरुद्धको खेलमा ब्राजिल ५–० ले विजयी भएको थियो। योसँगै उनले ओलम्पिकमा गरेको गोल संख्या १२ पुगेको छ। सन् २००२ मा ब्राजिलका लागि डेब्यु गरेकी ३५ वर्षीय मार्टाले २००४ देखि ओलम्पिक खेलेकी थिइन्।
ब्राजिलका लागि १६०औं खेल खेलकी उनले हालसम्म १११ गोल गरिसकेकी छन्। उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्।
तर, ओलम्पिकमा सर्वाधिक गोल गर्नेमा उनी आफ्नै देशकी क्रिस्टियनभन्दा दुई गोलले पछि छिन्। उनले २००४ देखि २००६ सम्म खेल्दा १४ गोल गरेकी थिइन्।
यस्तै, ब्राजिलियन मिडफिल्डर फोर्मिगा सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी बनेकी छिन्। फोर्मिगाले लगातार सातौं पटक ओलम्पिक खेलिरहेकी छन्।
उनले सन् १९९६ देखि लगातार ओलम्पिक खेल्दै आएकी छन्। समूह ‘सी’को खेलमा स्विडेनले अमेरिकालाई ३-० गोलले पराजित गरेको छ। यससँगै विश्व विजेता अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
आगामी शुक्रबारदेखि औपचारिक रूपमा सुरू हुने टोकियो ओलम्पिकका केही विधाका खेल भने सुरु भएका छन्। महिला फुटबलको प्रतिस्पर्धा तीन समूहमा चार चार टिम गरी १२ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।