काठमाडाैं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउ-खटिराले दु:ख दिइरहेको बताएका छन्। आफूलाई जनै खटिराले दु:ख दिएको स्मरण गर्दै उनले पार्टीभित्र पनि विभिन्न घाउ-खटिरा आएको बताए।
पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले अब अपमान सहेर नबस्ने बताए। तर, परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको उनको भनाइ छ। 'आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न,' नेपालले भने, 'तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।'
उनले कम्युनिस्ट पार्टीको नाम र झन्डा दुरुपयोग हुन दिनु नहुने समेत बताए। कम्युनिष्ट पार्टी बिग्रिन नदिन नेता अहंकारी र स्वेच्छाचारी भए कि भनेर जाँच्नुपर्ने उनको भनाइ छ। कम्युनिस्ट पार्टी बिग्रिएपछि 'अरुभन्दा बढी गनाउने' उनले बताए।
दास हुने मान्छे कम्युनिस्ट हुन नसक्ने भन्दै नेता नेपालले अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताए। आफूहरु सबैलाई सम्मान गर्ने पक्षमा रहेकाे उनकाे भनाइ छ।
‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, लोकतान्त्रिक चरित्र पनि होइन। अब लोकतान्त्रिक चरित्रको विकास गर्नुपर्छ।’ मन्तव्यको क्रममा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नाम भने लिएनन्।
कार्यक्रममा नेता नेपालले पुष्पलाल श्रेष्ठको जीवनी 'नेपाल रत्न पुष्पलाल' पनि विमोचन गरे। उनी प्रतिष्ठानका अध्यक्ष समेत हुन्। त्यसअघि उनले पुस्पलालको प्रतिमामा माल्यार्पण गरेका थिए।
एमाले वरिष्ठ नेता नेपाल पुग्नुअघि नै उपाध्यक्ष वामदेव गौतम प्रतिष्ठान परिसर पुगेर पुष्पलालको प्रतिमामा माल्यार्पण गरेका थिए। उनी कार्यक्रममा भने बसेनन्। माल्यार्पणका लागि उनी बिहान ७ बजे नै प्रतिष्ठान परिसर चम्पादेवी पुगेका थिए। माधव नेपालसहितका प्रतिष्ठान पदाधिकारी भने ८ बजेमात्र पुगे। गौतम माल्यार्पण गरेर निस्केपछि मात्र प्रतिष्ठानका कर्मचारीले थाहा पाएका थिए।
गौतमलाई कार्यक्रममा निमन्त्रणा थिएन। कोभिडका कारण प्रतिष्ठानका पदाधिकारी मात्र भेला भएर स्मृति दिवस मनाउने निर्णय गरेका कारण गौतम लगायत अन्य नेतालाई निमन्त्रणा नगरेको प्रतिष्ठानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।