काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलासमा सुनुवाइ सुरु भएको छ। बिहीबार पाँच आयुक्तको इजलासमा सुनुवाइ सुरु भएको छ। निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतका आयुक्तहरु रहेको इजलासमा सुनुवाइ सुरु भएको हो।
बहसका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मिथिलेश सिंह, मुक्ति प्रधान आयोग पुगेका छन्। जसपाका नेताहरु बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, केशव झा, उमाशंकर अरगरिया, हिसिला यमी लगायतका नेता आयोगमा रहेका छन्।
यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो।
दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।