काठमाडौं- वरिष्ठ अधिवक्ता महादेव यादवले जनता समाजवादी पार्टी(जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइनु पर्ने जिकिर छन्।
जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलासमा बिहीबार जारी सुनुवाइमा बहस गर्दै वरिष्ठ अधिवक्ता यादवले महन्थ ठाकुर पक्षले एकल रुपमा गरेको निर्णय जालसाजी र किर्तेसम्म हुनसक्ने भन्दै जसपाको आधिकारिकता यादव पक्षलाई दिनु पर्ने तर्क गरे।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायत पाँच आयुक्तहरु रहेको इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता यादवले जसपामा पहिला दुबै पक्षबीचमा मुख मिलेको भएपनि महन्थ ठाकुरले एकल सही गरेर पत्र लेखेपछि समस्या देखिएको बताए।
जसका कारण उपेन्द्र पक्षले अनुशासनको कारबाही गरेर उनी लगायतलाई निष्काशन गरेको र महन्थको लिखित जवाफमा हकदैया नभएको अधिवक्ता यादवले बताए।
३० दिनभित्र निर्णय पेश नगरेपछि त्यसलाई स्वीकार गर्न नमिल्ने भन्दै उनले आयोगले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको कुरालाई मान्यता दिन नसक्ने बताए।
अहिले दुवै अध्यक्ष भएकाले एकले मात्र निर्णय गर्न नसक्ने भन्दै उनले दुई अध्यक्ष भएको समयमा एउटाले मात्र कुनै काम गर्न नसक्ने जिकिर गरे। 'जेठ ६ गते केपी ओलीले धारा ७६(५) अनुसार सरकार बनाउन मार्ग प्रशस्त गरेको भन्नु भयो। राष्ट्रपतिको आह्वानपछि स्वतन्त्र रुपमा सांसदहरुले मत दिएका हुन् यसमा ह्वीप लाग्दैन, यसमा महन्थ पक्षको दुरासय देखिन्छ' इजलाससमक्ष उनले भने।
'शुरुका संस्थापक ५० जना सदस्यमा कसको बहुमत छ? उनीहरु कहाँ छन्? त्यसबाट निर्णय नगरि महन्थ ठाकुर पक्षले मात्र कारवाही गर्न पाउँदैन। उपेन्द्र यादव पक्ष नै आधिकारिक हो। यादव पक्षलाई आधिकारिकता दिनु पर्छ' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।