काठमाडौं- गत चैत ४ र ५ गते नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि अध्यक्ष केपी शर्मा ओलीपक्षले त्यस्तो भेलामा सहभागी नहुन अपिल गर्दै भएमा कारबाही गर्ने चेतावनी दिएको थियो।
नेपालपक्षले देशभरका नेता र कार्यकर्ताको भेला डाकेपछि ओलीपक्षले एमालेको त्यस्तो कुनै भेला नरहेको भन्दै सार्वजनिक सूचना निकालेर पार्टीको विधानविपरितका गतिविधिमा सहभागी हुनेहरुलाई कारबाही गरिने उल्लेख गरिएको थियो।
तर, नेपालपक्षको भेला रोकिएन। कतिपयले त्यो भेला एमाले विभाजनको प्रस्थानविन्दू बन्ने आकलन गरेका थिए। यस्तो आकलनअनुसार एमाले विभाजनपथमा त अघि बढेन तर, एकढिक्का पनि हुन सकेन। बरु यसबीचमा एमालेलाई एकताबद्ध पार्ने भन्दै अनेकौं प्रयत्न गरिए।
कारबाहीका शृंखला चले, फेरि कारबाही फिर्ताका पनि। शीर्ष नेताबीच वार्तादेखि कार्यदल गठन गरेर कार्यदलस्तरमा अन्त्यहीन छलफलको शृंखला चल्यो। कार्यदलले एमालेलाई एकताबद्ध पार्ने भन्दै १० बुँदे सहमति गर्यो र त्यसलाई शीर्ष नेतृत्वसमक्ष पनि पेस गर्यो।
यसबीचमा एकता प्रयासले ठोस प्रगति नलिए पनि ओलीपक्षले चैत महिनायता नेपालपक्षका समानान्तर पार्टी गतिविधिलाई लिएर सार्वजनिक चेतावनी दिएको थिएन। बरु पछिल्ला केही दिनयता एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति नदिने सन्देश दुवैपक्षले प्रवाह गरिरहेका थिए।
तर, बुधबार साँझ ओलीपक्षले नेपालपक्षका गतिविधिलाई कानुन र पार्टीको विधानविपरीत भन्दै कारबाहीको चेतावनी दिएको छ।
नेपालपक्षले बिहीबार आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ। कतिपयले त्यही बैठकबाट एमालेमा वारपारको टुंगो लाग्ने बताइरहेका छन्। त्यही बैठकलाई लक्षित गरेर एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै बिहीबार बस्न लागेको नेपालपक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।
‘एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। साउन २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु। पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ,’ तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
ओलीपक्षले कारबाहीको चेतावनी दिएको विषयलाई नेपालपक्षका एक नेताले अर्थहीन भएको टिप्पणी गरे। उनले भने, 'पार्टी विधिमा नचल्दा आज यो अवस्था आएको हो। त्यो काम केपी ओलीबाटै भएको हो। अब कसलाई विधि सिकाइराखेको? सके सबैलाई कारबाही गरे भयो नि!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।