‘गैरसांसदलाई निष्काशन गर’
प्रमुख प्रतिपक्ष नेकपा एमालेले बुधबारको संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्ने क्रममा सवैभन्दा धेरैपल्ट दोहोर्याएको नारा हो यो।
‘गैरसांसद’ भनेर एमालेले नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसदलाई इंगित गरेको हो। नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, नीरादेवी जैरु, भवानी खापुङ र मेटमणि चौधरीलाई एमालेले कारबाही गरेको थियो।
‘समाजवादी बहिनी’को दुःखेको चित्त
तिनै १४ जनामध्येकी एक रामकुमारी झाँक्री बुधबारको संसद बैठक स्थगन भएपछि बाहिर निस्किइन्। आफ्नै पूर्वसहयोद्धाहरु योगेश भट्टराई र गणेश पहाडीसँगै केहीबेर गफिइन्। कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उनीहरु सँगै थिए। अहिले फरक पार्टीमा पुगेका उनीहरुको आत्मीयता खास तलमाथि नपरेको त्यसले दर्शाउँथ्यो।
कुरैकुरामा झाँक्रीले एमाले सचिव भट्टराईतर्फ हेर्दै भनिन्, ‘दाजुहरुले गैरसांसद भनेर नाराबाजी गर्दा त क्या चित्त दुख्यो नि!’
यो झाँक्रीको मन घोच्ने ‘डायलग’ थियो। झाँक्रीलगायतका सांसदलाई एमालेले ‘गैरसांसद’ करार गर्ने ‘अपराध’को नेतृत्व नै अहिले एमालेमा रहेका अधिकांश ‘दाजुहरु’ले गरेका थिए। अर्थात् वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा अनुपस्थित हुने २८ जना सांसदमा भट्टराई पनि एक थिए। उनी एमालेमै रहेका कारण कारबाहीमा परेनन्।
नाराबाजीमा निष्क्रिय ‘एमाले दाजुहरु’
त्यसैले भट्टराई मुस्कुराए। पहाडीले आफू ‘बाध्य भएको’ जस्तो हाउभाउ दर्शाए। संयोगको कुरा के भने भट्टराई र पहाडी एमालेको त्यो नाराबाजीसहितको ‘संघर्ष’मा अग्रपंक्तिमा थिएनन्। ढोकाको छेउनेरै उभिइरहेका थिए। उनीहरु ‘जिन्दाबाद, मुर्दावाद’ भन्दा आफूलाई अलि पर–पर राख्ने कोशिस गरिरहेका थिए।
त्यसअघि विरोधस्वरुप टेबल ठटाउँदा पनि भट्टराईको हात टेबलसम्म पुगेको थिएन। सायद उनीहरुलाई त्यो चर्को विरोधमा उति रुचि थिएन। पत्रकारहरुले त्यही सम्झाइदिए। त्यहाँनेर पनि योगेश मुस्कुराए मात्रै। ‘एमालेका दाजु’ सांसदहरु आफूप्रति असहिष्णु नदेखिएको प्रमाण पत्रकारबाट प्राप्त भएपछि ‘समाजवादी बहिनी’ सांंसदको मनमा परेको गाँठो फुक्यो होला। तीजको दर खाने सन्ध्यामा मन केही हलुंगो भयो होला!
एमालेको आन्तरिक संघर्षमा माधवकुमार नेपालसँग रहेका भट्टराई मात्रै होइन, अन्य सांसदहरु पनि विरोध प्रदर्शनको अग्रपंक्तिमा देखिएनन्। एमालेकै उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण विष्ट नाराबाजीमा सक्रिय भएनन्। नाराबाजी चलिरहेको समयमा विष्ट हात बाँधेर सहकर्मीसँग गफ गरिरहेको ‘भिडियो फुटेज’ धेरैको आँखामा परेको हुनुपर्छ।
संसदमा आफूलाई निष्क्रिय राखेका उनीहरुले बुधबार संसद बैठकअघि बसेको एमाले संसदीय दलको बैठकमा समेत सक्रियता जनाएका थिएनन्। उपाध्यक्ष भीम रावलले एमसीसीका विषयमा धारणा राखे। तर, फ्लोरबाट बोल्ने २५ सांसद सबै एमाले अन्तरसंघर्षमा ओलीसँग रहेकाहरु मात्रै थिए।
उनीहरुको निष्क्रियतालाई लिएर एक सांसदसँग अनौपचारिक संवाद हुँदा उनको प्रतिक्रिया यस्तो छ, ‘सक्रिय हुन त दिलबाट उत्पन्न भएर दिमागले निर्देशन पनि गर्नुपर्यो। ‘रिदम’मा आउन समय लाग्न सक्छ।’
त्यति मात्रै होइन, एमालेले संसद अवरुद्ध गर्न अघि सारेको ‘मुद्दा’ पनि उनीहरुलाई स्वाभाविक लागेको छैन। एक सांसदको प्रतिक्रिया छ, ‘सभामुखले दल विभाजन गर्ने नियतले काम गरेको सही हो। तर, गैरसांसद भनेर हामीले माधव नेपालतर्फ औंलो उठाउनु हुँदैनथ्यो। अदालतमा मुद्दा भएकाले त्यतिन्जेल पर्खिनुपर्छ।’
एमालेले आफूले कारबाही गरेका १४ जना सांसद संसद्मा रहेको भनेर संसद अवरुद्ध गरिरहेको छ। उनीहरु त्यहाँबाट ननिस्केसम्म संसद अवरुद्ध हुने एमाले नेता खगराज अधिकारी बताउँछन्। संसद स्थगित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘सभामुखले हामीलाई आश्वस्त नपारेसम्म संसद् बैठक चल्दैन।’
मुद्दा गैरसांसदको, आक्रोश सभामुखमाथि
बुधबार संसदमा देखिएको एमालेको त्यो आक्रोश ‘कारण’ले भन्दा बढी ‘कारक’ले उत्पन्न भएको हो। एमालेका लागि मुख्य कारक हुन्– सभामुख अग्निप्रसाद सापकोटा।
त्यसैले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा बोल्दै उनलाई एमाले विभाजनको ‘मतियार’ नै भने। उनले संसदमा उभिएर यस्तो बोलेका थिए, ‘कारबाही गरेका सांसदबारे सूचना किन सार्वजनिक गर्नुभएन? १३ दिनपछि नियोजित रुपमा एमाले टुक्रयाइसकेपछि यो काम गर्नुभएको छ, हाम्रो बीचमा अनुत्तरित प्रश्न छ। नेकपा एमालेले कारबाही गरेका सांसदलाई कारबाही गर्न र एमाले टुक्रयाउन किन सारथी हुनुभयो? दल विभाजनका लागि किन तपाईं मतियार हुनुभयो?’
एमाले संसदीय दलको बैठकमा पनि सापकोटाको ‘व्यवहार’को चर्को आलोचना भएको थियो। एमाले सचेतक शान्ता चौधरीले आफू कारबाही प्रक्रियाका विषयमा बुझ्न सभामुख सापकोटाकोमा पुग्दा अपमानित हुनुपरेको उल्लेख गरेकी थिइन्। उनको भनाइ थियो, ‘उहाँ सभामुख हो, त्यसैले मर्यादा होला। हामी पनि त्यही सभाका सांसद हौं, जे सक्छौ गर भन्न पाइन्छ?’
परिस्थिति असामान्य हुँदा सभामुखले सम्हाल्नुपर्छ। एमाले विभाजनको रनाहामा छ। नेताहरु आक्रोशित छन्। सभामुख पनि तनावको समयमा हुनसक्ने मानवीय कमजोरी चिडचिडाहटबाट बाहिर निस्कन नसकेको बुधबार संसदमा पनि देखियो। माननीयहरुको सभाका सभामुखबाट अपेक्षित भद्रतामा कमी जस्तो महशुस त्यसलाई ‘लाइभ’ हेर्नेले गरेका छन्। उनको यो स्वभावले माहोल नियन्त्रणमा ल्याउन सकस पर्ने संकेत गर्छ।
यो प्रकरणमा एमालेले गरेको प्रश्न हो– ‘भदौं १ गते हाम्रो दलको अनुशासन उल्लघन गर्ने १४ जनालाई कारबाही गरिपाऊँ भनेर हामीले निवेदन दिएका थियौं। हामीले कारबाही गरेको सूचना भदौं २ गते, ३ गते प्रकाशन गर्न हामीले आग्रह गर्यौं। तपाईंले माओवादी केन्द्र र जसपाका सांसदलाई कारबाही गरेको सूचना टाँस्नुभयो। एमालेको हकमा किन तपाईंले फरक व्यवहार देखाउनुभयो?’
सभामुख सापकोटाले यो प्रश्न संसदमा ‘दर्ज’ भएको बताएका छन्। अब उनले त्यसको उत्तर कसरी दिन्छन्, संसदको अवरोध हट्ने वा निरन्तर रहने त्यसैमा निहित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।