काठमाडौं– नेपालमा पहिलोपटक सौर्यउर्जाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट पाँच मेगावाट विद्युत उत्पादन भएको हो।
सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिएको थियो। आयोजनाको काम सम्पन्न गरी विद्युत् उत्पादनल सुरु गरेको कम्पनीको भनाइ छ।
आयोजनाको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार उद्घाटन गरिन्। सो अवसरमा मन्त्री भुषालले देशमा क्रमिक रुपमा विद्युतको उत्पादन बढीरहेकोले विद्युतीय सामाग्रीको प्रयोग बढाउन जरुरी रहेको बताइन्। ‘स्वदेशकै उर्जा खपत गरी आयातित ग्यासलाई प्रतिस्थापन गर्न सबै नागरिकलाई आग्रह गर्दछु,’ उनले भनिन्।
विद्युतको बढी भन्दा बढी खपत गरी देशलाई अर्थतन्त्रमा बलियो बनाउने अभियान सुरु भएको भन्दै उनले भान्सादेखि सडकसम्म विद्युतीय सामग्रीको प्रयोगमा जोड दिनुपर्ने बताइन्। नेपालमा मिश्रित उर्जा प्रणालीले लगानी कर्तालाई उत्साहित बनाएकाले जलविद्युत्सँगै सोलार विद्युत् उत्पादनलाई सरकारले प्राथमिकता दिएको मन्त्री भुसालको भनाइ थियो।
लगानीकर्ताका लागि सहज वातावरण बनाएर उत्पादन वृद्धि गर्दै लैजाने योजना सरकारको रहेको उनले बताइन्। आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने लक्ष्य लिएको जानकारी दिँदै उनले उर्जा क्षेत्रमा लगानी बढाउनसमेत लगानीकर्तालाई आग्रह गरिन्।
स्वदेश तथा विदेशामा रहेका गैरआवसीयको लगानी रहेको आयोजना ४३ करोडमा निर्माण सम्पन्न भएको फार्मका निर्देशक शंकरजङ्ग गुरुङले जानकारी दिए।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले ७ रुपैया ३० पैसामा प्रतियुनिटमा २५ वर्ष सम्म खरिद गर्ने सम्झौता भएको आयोजनाका सेयर सदस्य तथा व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए। फार्ममा अहिले उक्त परिमाणमा विजुली उत्पादन गर्न १३ हजार ५ सय प्यानल जडान गरिएको छ। फार्मबाट उत्पादित बिजुली करिव ५ सय मिटर पर रहेको बेलचौतारा सबस्टेसनमा लगेर जोडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।