काठमाडाैं– जिम्बावेका आक्रमक ब्याट्सम्यान सिकन्दर राजाको अर्धशतकमा विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सलाई १५२ रनको मध्यम लक्ष्य दिएको छ।
टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले फितलो प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको हो।
विराटनगरका लागि राजाले बाहेक अन्यले गतिलो खेल प्रदर्शन गर्न सकेनन्। अनुभवि ब्याट्सम्यान राजाले ३७ बलमा अर्धशतक बनाएका थिए।
उनले ४७ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको योगदान दिए। उनी कमलसिंह एेरीको बलमा ठूलो सट खेल्ने क्रममा भीम सार्कीको हातबाट क्याच आउट भए।
यता, अनिलकुमार शाहले ३२ र शौरभ खनालले ३० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान भने क्रिजमा जमेर खेल्न सकेनन्।
अनिल र राजाको बलियो जुगलबन्दी
दुई ओभर नपुग्दै ३ विकेट गुमाएको विराटनगरलाई अनिलकुमार शाह र जिम्बावेका सिकन्दर राजाले उकास्ने प्रयास गरेका थिए। पावर प्लेमा फितलो प्रदर्शन गरेको विराटनगरले यी दुई ब्याट्सम्यानबिच बलियो साझेदारी बन्दा केही राहत महसुस गरेको थियो।
अनिल र राजाले १०.५ ओभरसम्म ६१ रनको बलियो साझेदारी गरे। अनिल ३१ बलमा ३ चौका र १ छ्क्का प्रहार गर्दै व्यक्तिगत ३२ रनमा आउट भए। उनलाई युवा बलर सागर ढकालले बोल्ड गरे।
चल्न सकेनन् विराटनगरका ब्याट्सम्यान
तीव्र गातिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिँदै चितवनलाई सानदार सुरुवात दिलाएका थिए।
गत चैतमा सम्पन्न मलेसिया, नेदरल्याण्ड्स र नेपालबीचको त्रिकोणात्मक सिरिजमा उच्च प्रदर्शन गरेका ओपनर ओपनर आसिफ शेखलाई दोस्रो बलमा सोमपालले शून्यमा क्याच गराए।
आसिफ सोमपालको बलमा टस एज लागेर करिम जान्नतबाट क्याच आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्के। सोमपालकै अन्तिम बलमा रयानखान पठान ४ रनमा बोल्ड आउट भए।
उनले ३ बल खेल्दै १ चौकासहित ४ रन बनाए। उनी आउट भएलगत्तै आसिफलाई ओपनिङमा साथ दिन आएका वेस्टइन्डिजका चन्द्रपाउल हेमराज पनि ५ बलमा २ रन बनाएर आउट भए।
अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा हेमराजलाई २ रनमा बोल्ड आउट गरेका थिए।
यता, काठमाडौं गोल्डेन्सबाट खेलिसकेका सुमित महर्जनले पनि गतिलो प्रदर्शन गर्न सकेनन्। सिकन्दर राजालाई साथ दिन आएका उनी पहिलो बलमै सागर ढकालको बलमा एल्बिडल्यूको सिकार हुँदै मैदानबाट बाहिरिए।
त्यसपछि ११औं ओभरमा आएका विराटनगरका कप्तान करण केसी पनि क्रिजमा जम्न सकेनन्। पहिलोपटक विराटनगरको कप्तानी सम्हालेका किरण १ रनमा आउट भए।
३ बलको सामना गरेका करण शाहब आलमको बलमा अफगानी विकेटकिपर मोहम्मद शाहजादको हातबाट क्याच भए।
यता, बिक्रम भुसाल ७ रन बनाएर आउट भए भने प्रतिश जिसीले खाता खेल्न सकेनन्।
चितवनको मध्यम बलिङ
पहिलो ओभरमै २ विकेट हात पारेका चितवनका कप्तान सोमपाल कामी ३ ओभरसँग किफायती बलर देखिएपनि अन्तिम ओभरमा खुकुलो बलिङ गरे। उनले पहिलो ओभरमा ६ रनमात्रै दिए। यस्तै, तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपालले ५ रन खर्चिए।
तर,१६औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सोमपाल महँगो सावित भए। उनले सिकन्दर राजलाई १ छक्कासहित ९ रन दिए। उनले समग्रमा ४ ओभरमा २ विकेट लिँदै ३४ रन खर्चिए।
यता, युवा बलर सागर ढकालले पनि २ विकेट लिए। उनले ३ ओभर बलिङ गर्दै १४ रन खर्चिएर विराटनगरलाई चल्न दिएनन्।
कमलसिंह ऐरीले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर २ विकेट लिए। ४ ओभर बलिङ गरेका अफगानिस्तानका करिम जन्नतले ३२ रन खर्चिए २ विकेट लिए।
यता, श्रीलंकाका शेकुगे प्रसन्न चितवनको लागि महंगो सावित भए। १ ओभर मात्रै बल फ्याँकेका उनले १७ रन खर्चिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।