काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्ने नयाँ मन्त्रीबारे चर्चा सुरु भएको छ।
कांग्रेस कोटाबाट हमालको नियुक्ति भएकाले स्वाभाविक रुपमा उनले राजीनामा गरेपछि खाली भएको ठाउँमा कांग्रेसबाटै मन्त्री बन्ने छन्। तर, कांग्रेसभित्र कुन समूहले त्यो मन्त्रालय प्राप्त गर्ने भन्नेबारे भने ‘लफडा’ हुने भने देखिन्छ।
कांग्रेसका दुई पक्ष, शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट स्रोतका अनुसार सुजाता कोइरालालाई उक्त मन्त्रालयको जिम्मेवारी सुम्पने सम्भावना बढी छ। मन्त्रिपरिषद् विस्तार गर्दा कोइराला वर्तमान सरकारको मन्त्री बन्नेमा चर्चा थियो। तर, उनी विस्तारित मन्त्रीमण्डलमा अटाइनन्।
संस्थापनइतरको पौडेलपक्षको बलमा कोइराला मन्त्रीमा पर्नेमा ढुक्क थिइन्। वरिष्ठ नेता पौडेलले नेता दिलेन्द्र बडु र महामन्त्री डा शशांक कोइरालाले मन्त्रीका लागि डा मीनेन्द्र रिजाल रोजे। बडु र रिजाल मन्त्रिपरिषद्मा समेटिएपछि कोइरालालाई मन्त्री पद प्राप्त हुन सकेन।
प्रधानमन्त्री देउवाले पौडेलपक्षलाई दुई मन्त्रालय छुट्याएका थिए। पौडेल पक्षभित्रकै दुई समूहले कोइरालालाई मन्त्रिपरिषद्मा नपारेपछि उनी आफ्नै समूहमा असन्तुष्ट थिइन्। पौडेलपक्ष निकट भनिएर चिनिएकी कोइरालाले मन्त्रीमा नपरेपछि उक्त समूहका शीर्ष नेता पौडेल र शशांकको पक्षमा नरहने संकेत गरेकी थिइन्।
कोइरालालाई आफ्नोतर्फ तान्नका लागि रिक्त मन्त्रालयमा कोइरालालाई मन्त्री बनाउन देउवा इच्छुक रहेकोसमेत बताइन्छ। महाधिवेशन नजिकिएकाले देउवाले सुजातालाई आफ्नो धारमा तान्ने प्रयास गरेका छन्। महाधिवेशनमा कोइराला परिवारमा विभाजन गर्न सके त्यसको प्रत्यक्ष लाभ आफूलाई प्राप्त हुने देउवाको बुझाइ छ।
रिक्त मन्त्री पद आफ्नो पक्षले पाउनुपर्ने दाबी पौडेलपक्षले पुनः गर्ने भएको छ। तीन मन्त्रालय दाबी गरेको पौडेलपक्षलाई कोइराला मन्त्री बनेमा उक्त माग पनि पुरा हुनेछ। पौडेलपक्षले आफ्नो माग पूरा भएको ‘आत्मरतिमा रमाए पनि’ कोइराला भने देउवा क्याम्पमा पुगिसकेको कांग्रेसमा कतिपयको बुझाइ छ।
पौडेलपक्षको माग सुनुवाइ पनि हुने तथा कोइराला आफूतिर आकर्षित हुने अभिलाषाले देउवाले उनलाई मन्त्री बनाउने सम्भावना रहेको बताइन्छ। सुजातालाई मन्त्री बनाउन महामन्त्री शशांक इच्छुक नै छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा शशांकले सुजाताभन्दा मीनेन्द्रलाई प्राथमिकता दिएका थिए।
संस्थापनइतरका पनि थप गुट छन्। पौडेलले तेजुलाल चौधरी र प्रकाशमान सिंहले राजन केसीलाई मन्त्री बनाउन चाहेका छन्। रिक्त स्थानमा उनीहरुलाई पठाउन दुवैपक्षको जोड रहन्छ। कथं, कोइराला मन्त्री बनिन् भने पनि पौडेल र सिंहको असन्तुष्टि भने कायम नै रहने देखिन्छ।
उपप्रधानसहितको मन्त्रीको आकांक्षी रहेकी कोइरालाले उक्त वरीयता प्राप्त गर्ने सम्भावना भने देखिँदैन। सत्ता गठबन्धनका दलवीच उप प्रधानमन्त्री नरहने आन्तरिक सहमति भएको छ।
हमालले पदत्याग गरेको उक्त मन्त्रालयमा देउवाका विश्वासपात्र उमेश श्रेष्ठको नाम समेत चर्चामा छ। साउन १० मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ। श्रेष्ठको भूमिकाबाट प्रसन्न देउवाले उनलाई नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिने सम्भावना रहेकोसमेत बताइन्छ।
शंकाको लाभका लागि सरकारले प्राप्त गर्ने तीन महिना सकिनै लाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो। हमालको राजीनामाले मन्त्रिपरिषद अपूर्ण बनेको छ। उक्त पदमा कसलाई नियुक्ति दिने भन्नेबारे कांग्रेसभित्र पुनः ‘रडाको’ उत्पन्न हुनु भने स्वाभाविक बन्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।