काठमाडौं– १२ महिनामा असोज सबैभन्दा रमाइलो महिना हो। विशेष गरेर किसानहरुको हो, दशैं। दशैैंमा खेतीपाती स्याहार्ने बेला पनि कम हुने र गर्मी सकिएर मौसम बदलिएको अवस्था हुन्छ। सबैतिर हरियाली अनि बर्षात्को भल, बाढी, पानी अन्त्य भएसँगै संग्लिएको अवस्थालाई हाम्रा पूर्खाहरुले बडादशैं भनेर मनाउन सुरु गरेका हुन्। दशैं एउटा विशेष मौसम हो, महिना हो।
सानो हुँदा दशैं भन्ने बितिक्कै निकै रमाइलो लाग्थ्यो। किनभने त्यतिबेला बुबाआमाले वर्षभरिलाई एउटा लुगा किनिदिनु हुन्थ्यो, जे दिए पनि, असाध्यै खुसी लाग्थ्यो। दशैंको समयमा नयाँ लुगा पाइने, मासु खान पाइने भएपछि छुट्टै मजा आउँथ्यो। दुध, घ्यू, लगायतका मिठा परिकार खान पाइने भएकाले बाल्यकालमा निकै रमाइलो लाग्थ्यो।
पछि हुर्किंदै जान्नेसुन्ने भएपछि के अनुभव भयो भने दशैं चाँहि हुने खानेले असाध्यै तडकभडक गर्ने र धेरै खर्च गर्ने रहेछन्।
आयआर्जन नभएकाले पनि ऋणपान गरेर दशैं मनाउनु पर्दा चाहिँ आम्दानी नहुनेका लागि दशैं दशा हुँदो रहेछ।
म पञ्चायत कालमा भूमिगत हुँदा दशैंमा घर जान समस्या हुन्थ्यो। त्यसै कारण कतिपय गरिब किसानहरुको घरमा बस्ने गर्थें।
उनीहरुले दशैं टार्नका लाग साहुहरुसँग ऋण काँढेर मनाउने गरेको पाउथें। उनीहरु दशैं आयो भनेपछि बढो चिन्ता मानेर त्यसलाई कसरी टार्ने, आर्थिक समस्या समाधान गर्ने हो भनेर चिन्तित हुने गर्थें।
अब धानदेखि पैसा खोज्न जानुपर्ने अवस्था हुन्थ्यो। अरुसित प्रतिस्पर्धा गर्नुपर्ने भएपछि पैसा नभएकाले त्यस्तो चिन्ता किसानहरुले गरेको देख्ने गर्थें। भूूमिगत कालमा मैले धेरै चोटी किसानहरुको बीचमा बसेर दशैं मनाएको छु। मूलरुपमा त दशैं भनेको रमाइलोको लागि नै हो। तर, अहिले के भयो भने विकृति धेरै आयो। अहिले बढीभन्दा बढी पैसा खर्च गरेर देखाउने, दशैंमा फुर्सद भएकाले जुवातास खेल्ने, बढी जाड रक्सी खाने, स्वास्थ्य खराब बनाउने गरेको देख्छु।
अलिबढी नै विकृति अहिलेको समाजमा चाहिँ दशैंका नाममा बढेको देखिएको छ।
विदेशमा रहेका र नेपालकै पनि विभिन्न ठाउँमा छरिएर रहेका आफन्त, नातागोताहरुको भेटघाट हुने र त्यसबाट रमाइलो र आनन्द गर्ने कुराको छुुट्टै महत्त्व छ।
तै पनि मूल रुपमा यसमा पनि हुने र नहुने वर्गको चाहिँ स्थिति देखिन्छ। हुनेले प्रशस्त खर्च गरेर उडाउने गर्छ। नहुनेले पनि बालबच्चाको अपेक्षा र आफ्नो इज्जतका लागि सकि नसकी खर्च गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा दशैं चाहिँ दुईथरीको छ, अहिले। शिक्षामा दुईथरी भएको जस्तो दशैं मान्ने कुरा पनि दुई थरीको देखिएको छ।
कतिपय शासकहरुलाई पट्याएर काम लिनका लागि दशैंको समयमा कयौंले खसी बोका ल्याइदिने गरेको पाइन्छ। लुगाफाटो ल्याइदिन्छन्, उपहार दिन्छन्। दशैंको उपहार भनेर गर्ने काममा मैले गम्भीर विकृति पनि देख्छु। किनभने मैले सांसद भएर पनि हेरेँ, सत्तामा पनि केही समय बसेँ। माया, सद्भावसहित त्यस्ता उपहार ल्याउनुको पछाडि कसैलाई पनि फकाउने वा पट्याउने उद्देश्य हुन्छ।
ठूलाबडाहरु अझ भन्दा विशेष गरेर पावरमा बस्नेहरुलाई उपहारको पनि ओइरो लाग्छ।
त्यो उपहारको काम गरेर त देखाउनु पर्यो। अब नहुने काम काम पनि उपहार र खसीसहितको ‘गुन’ लगाएको हुनाले गर्नुपर्ने हुन्छ। यसो हुनाले यसमा विकृति पनि धेरै छ। अब मुख्य रुपमा इष्टमित्र, देशविदेशमा बसेका जम्मा हुने वर्षको एकचोटी भन्ने रुपमा चाहिँ दशैंको महत्त्व छ।
पञ्चायत कालमा एकचोटी दशैं मनाउँदा म एउटा विकट ठाउँमा बसेको थिए। त्यो बेला त्यहाँका किसानले ऋण काँढेर आफ्ना नातागोता, इष्टमित्रलाई उम्काएपछि उनीहरुले गरेको त्यो ऋणको भार र त्यसको कुरा गरेको देख्दा मलाई चाहिँ दशैं सबैका लागि दशैं हुँदो रहनेछ भन्ने लाग्यो।
दुःख पाएका मानिसहरुसँग बसेर मनाउँदा मलाई चाहिँ दशैंको अनुभव धेरै भयो। अघिपछि त हामी धनाढ्य मानिस त होइनौं। घरमै बाख्रा पाल्ने भएको हुनाले प्राय घरमै बोका, खसी काट्ने गथ्र्यौं। म आफंै पनि बाख्रा गोठालो भएको मानिस हो। ६०/६५ बाख्रा मैले नै चराएर हिँडेको छु। त्यसो हुनाले आफ्नै घरमा बाख्रा पाल्ने भएको हुनाले अहिले जस्तो एक किलो मासुलाई १२/१३ सय रुपैयाँ पर्दैन थियो।
घरमा ‘कडा’ लगाएको ताउलोमा पकाएको मासु खाइन्थ्यो। अब अहिले त्यो सम्भावना नै छैन, पैसा नहुनेलाई त। त्यसो भएको हुनाले पैसा नहुनेले ऋण खोजेर दशैं टारेको दृश्य मलाई अहिले पनि झलझली आइरहन्छ।
अहिले अवस्था फेरिएको छ। देशको जिम्मेवार निकायमा बसेकाहरुले नै दशैं आयो भन्दै भ्रष्टाचार गर्ने गरेको पाइन्छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरीले नै दशैं मान्न भन्दै पैसा मागेको मैले देख्ने गरेको छु। म सार्वजनिक यातायातमै हिँडने गरेकाले। जिम्मेवार ठाउँमा बसेका मानिसले नै दशैं आयो भनेर अवैध रुपमा पैसा जम्मा गरेर असाध्यैं ठूलो खर्च गरेर रवाफ देखाउने विकृति आएको छ त्यो निकै गम्भीर छ।
सत्ता र शक्तिमा रहेकाहरुले तडक भडक गरेर, धनसम्पत्तिको दुरुपयोग गरेर जाँडरक्सी र जुवातास खेल्ने गरेको देखिन्छ।
हुनुपर्ने सामान्य रुपमा आफ्नो नातागोता, इष्टमित्रसित भेटघाट पारिवारिक सम्बन्ध विस्तार हो तर, त्यस्तो भइरहेको देखिँदैन।
जुवा खेल्ने बेला त होइन यो। त्यस कारणले जुवाडे ठाउँ ठाउँमा पक्राउ पर्ने गरेका छन्। दशैं आफैंमा नराम्रो कुरा चाहिँ होइन, राम्रो हो तर, हाम्रो समाजले दुरुपयोग गरेको छ।
मैले भड्किलो रुपमा कहिल्यै दशैं मनाएको छैन र मनाउँदिन। घुस खाएर पैसा जम्मा गरेकाले जसरी उडाएर अरुलाई देखाउन दशैं मान्छन् मैले त्यसरी मान्दिन। दशैंलाई त्यति महत्व पनि दिन्न। अब केही गरी म कहाँ बस्न, भेट्न टिका लगाउन आए भने त्यसै फर्काउदिन। सिद्धान्ततः त्यसो गर्न पनि हुन्न। तर, दशैं भनेर अनावश्यक ‘ऋण गरेर घ्यू पिउने’ प्रचलन पहिले पनि हाम्रो परिवारमा थिएन। अहिले त्यो नियम मैले पालना गरेको छु। ऋण गरेर घ्यू पिउने सिद्धान्त मेरो छैन, अरुले पनि गर्नु हुँदैन।
(राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग बीपी अनमोलले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।