काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुगु बस दुर्घटनाले स्तब्ध बनाएको जनाएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले मंगलबार मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको बताएका हुन्।
उनले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन्।
कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रचण्डको विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेको उल्लेख गरिएको छ।
उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिएको उनको भनाइ छ।
चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेको विज्ञप्तिमा जनाइएको छ।
'यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह गर्दछु' विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।