भक्तपुर- भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ। हरेक वर्ष दशैंमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिइ पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए। गुठी संस्थानको खर्चमा हुने वर्षौंदेखि चल्दै आएको बलि दिने परम्परा गत वर्ष र यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उनले जानकारी दिए।
तलेजुलाई मूल चोकको दशैंघरमा विराजमान गराउने वर्षौंदेखिको परम्परासमेत यस वर्ष रोकिएको छ। कोरोनाकै कारण गत वर्ष र यस वर्ष तलेजुलाई मूल घरबाट दशैंघर नलगिएको मूल नाइके जोशीले जानकारी दिए।
त्यसैगरी यस वर्ष कुमारीलाई काठमाडौंस्थित कुमारी घरमै राखिएको छ। कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।