काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले 'तीन पुत्र'बीच सभापति, प्रधानमन्त्री र राष्ट्रपतिमा भागबण्डा गर्न आफूले प्रस्ताव गरेको बताएका छन्।
विपी कोइराला पुत्र शशांक, महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र र गणेशमान सिंह पुत्र प्रकाशमानबीच आगामी महाधिवेशनमा मिलेर जाने बारेमा पटकपटक छलफल भएपनि अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन।
'तीन पुत्रको निष्कर्ष आउनसकेको छैन। मैले को सभापति, को प्रधानमन्त्री, को राष्ट्रपति मिलाऔं भनेको छु,' बिहीबार सम्पादकहरुसँगको छलफलमा नेता सिंहले भने, 'सबैले मै भन्ने। यसमा केही टुंगो लागेको छैन।'
उनले आफू मिलाउने अभियानमा लागेको बताउँदै आफूहरु छलफलमा रहेको बताए।
सिंहले शेरबहादुर देउवाले बोक्ने इमेजबाट कांग्रेसलाई मुक्त गर्नको लागि आफू सभापतिको उम्मेदवार बन्न लागेको बताए। अहिले देउवाको इमेज जनअपेक्षासँग मेल नखाने उनको भनाइ थियो।
नेता सिंहले लोकतन्त्र र संविधान जोगाउनका लाग कांग्रेसलाई अनुभवी नेतृत्व चाहिएको बताए। त्यसकारण पनि आफूले सभापतिमा उम्मेदवारी दिन चाहेको उनले बताए।
'१३औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर भयो', सिंहको भनाइ छ, 'त्यहीकारण कम्युनिस्ट बढे। कम्युनिस्टहरु बढ्दा लोकतन्त्र खतरामा परेको छ।' सिंहले कांग्रेसमा यतिबेला आफू दोस्रो नेता भइसकेको दाबी गरे। सिंहले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने सार्वजनिक घोषणा गरिसकेका छन्। त्यसका लागि तयारी पनि गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।