काठमाडौं- सुडानका नवनियुक्त प्रधानमन्त्री अब्दल्लाह हमडोकले गत महिनाको सैन्य ‘कू’पछि भर्ती भएका निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न र सबै नियुक्तिहरूको समीक्षा गर्न आदेश दिएका छन्।
शीर्ष जनरल अब्देल अल बुर्हानले २५ अक्टोबरमा सत्ता कब्जा गरेका थिए। त्यसपछि प्रधानमन्त्री हमडोकलाई हिरासतमा लिएका थिए। तर, अन्तर्राष्ट्रिय निन्दा र जनविरोध पछि गत आइतबार हमडोकलाई प्रधानमन्त्रीमा पुनर्बहाली गरिएको थियो।
‘कू’ पछि, अल बुर्हानले प्रमुख संस्थाहरू विघटन गरेका थिए। यस्तै, सरकारी समाचारमाध्यम, सार्वजनिक कम्पनीहरू र बैंकहरूका साथै धेरै प्रान्तीय अधिकारीहरूलाई बर्खास्त गरेका थिए।
देश छोड्ने घोषणा गरेका राजदूतलाई पनि पदमुक्त गरिएको छ।
हामडोक आफैंलाई सेनाले ‘कू’ पछि घरमै नजरबन्दमा राखेको थियो, जसले ठूलो सडक विरोधको लहरलाई उत्प्रेरित गर्यो।
बुधवार हामडोकले एक विज्ञप्तिमार्फत् आदेश दिए,‘अर्को सूचना नआएसम्म राष्ट्रिय र स्थानीय सार्वजनिक संस्थाहरूमा बर्खास्त र भर्तीलाई तत्काल रोक्नू।’
बुर्हानसँगको विवादास्पद सम्झौतामा आफ्नो पदमा फर्किसकेपछि पनि मन्त्रिपरिषद् बिना नै रहेका प्रधानमन्त्रीले हालको भर्ती र बर्खास्तहरूको अध्ययन र समीक्षा गरिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।