काठमाडौं– बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन मिति घोषणा भएको छ। फिल्मका निर्देशकमध्येका एक सन्तोष सेनले फिल्मलाई आउँदो फागुन १३ गते प्रदर्शन गरिने बताएका हुन्।
प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा रहेको फिल्म लामो समयदेखि प्रदर्शनको बाटोमा थियो। नेपालीसँगै भारतीय भाषामा पनि प्रदर्शन गरिने यो फिल्मलाई लिएर कोरोना महामारीअघि नै निकै चर्चा भएको छ। सन्तोष सेन र छेतन गुरुङको संयुक्त निर्देशनमा रहेको फिल्ममा प्रदीप र क्रिष्टिनासँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, प्रेम पुरी, अनुभव रेग्मीलगायतको अभिनय रहेको छ।
फिल्मको प्रदर्शन मिति बारे जानकारी दिँदै निर्देशक सन्तोषले भनेका छन्, ‘हजुरहरुको लागि एउटा ठूलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका छौं। कोरोना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेख भारतको यात्रामा दिग्गजलाई समेट्न सकेका थियौं। अन्ततः फागुन १३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौं।’ सँगै केही दिनमा फिल्मको ट्रेलर सार्वजनिक हुने उनले बताएका छन्।
दुई सय वर्षअघिको प्रेम कथालाई प्रस्तुत गरिएको फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि प्रदर्शन गर्नका लागि हिन्दी भाषामा डबिङ समेत भइसकेको छ। हिन्दी भाषाका लागि केही समयअघि फिल्मको निर्माण पक्ष भारत गएको थियो। निर्देशक सेनले बताएअनुसार फिल्मलाई भारतको सुपरहिट फिल्म ‘बाहुबली’मा आवाज दिने कलाकारहरुले नै डबिङ गरेका छ्न्।
‘आसुसेन फिल्मस्’ प्रस्तुतिको रुपमा बनेको फिल्ममा सन्तोष आफैंको लगानी छ। फिल्लाई छेतन गुरुङ र मन्दीप गौतमले संयुक्त रुपमा लेखेका छन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।