चितवन– एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा एमाले उपमहासचिव घनश्याम भुसालले दुई विकल्पको तयारी गरेका छन्। उनले सर्वसम्मत नेतृत्व चयन हुने वा चुनाव हुने स्थितिलाई मध्यनजर गरेर आफ्नो तयारी गरेका हुन्।
'महाधिवेशनमा चुनाव भयो भने उहाँ वरिष्ठ उपाध्यक्ष लड्ने तयारीमा हुनुहुन्छ। सहमतिमै पदाधिकारीको टुंगो लगाउने स्थिति बन्यो भने उपाध्यक्षकै लागि तयार छु भन्नुभएको छ', भुसाल निकट एक नेताले भने।
भुसाल नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए। त्यतिबेला उपमहासचिवमा दुई जनाको लागि भएको निर्वाचनमा भुसाल, विष्णु पौडेल, शंकर पोखरेल र रघुजी पन्त उम्मेदवार भएका थिए। भुसाल र पौडेल सर्वाधिक मत ल्याएर विजयी भएका थिए।
सहमतिमै नेतृत्व टुंग्याउन प्रयास गरिरहेको अध्यक्ष केपी शर्मा ओली निकटका केही नेताबाट भुसाललाई उपमहासचिवमा दोहोरिन प्रस्ताव पुगेको पनि बताइएको छ। तर, भुसालले त्यसमा रुचि देखाएका छैनन्। बरु वरिष्ठ उपाध्यक्षमा पराजित भएको स्थितिमा केन्द्रीय कमिटीमै रहने मनस्थितिमा उनी रहेको ती नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।