काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत झापाको जिल्ला अधिवेसनमा नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा पक्षका नेताहरु सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्।
सिटौला र शर्माबीच केन्द्रमा भन्दा भिन्न रुपले झापामा प्रतिस्पर्धा हुन लागेको हो। दुवै नेताले पार्टीको जिल्ला नेतृत्वका लागि आफू निकटका नेताहरुलाई प्रतिस्पर्धामा उतार्ने भएका हुन्।
सिटौला पक्षबाट पूर्व उपसभापति देउकुमार थेवे झापा कांग्रेसको सभापतिका लागि भिड्ने भएका छन्। यस्तै, शर्मा पक्षबाट उपसभापति राम कट्टेल सभापतिका लागि प्रतिस्पर्धामा उत्रिने भएका छन्।
थेवे १३औं महाधिवेशनका क्रममा नै झापा जिल्लाको सभापतिका आकांक्षी थिए। त्यतिबेला सिटौलाले १४औंमा सभापति बनाउने आश्वासन दिएका थिए। आफैंले गरेको वाचाअनुसार सिटौलाले थेवेलाई उम्मेदवार बनाएका छन्।
त्यसो त झापाका अधिकांश नेताको साथ थेवेलाई छ। मनोनित केन्द्रीय सदस्य सुधीर शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, हालका सभापति उद्धव थापा पनि थेवेको पक्षमा छन्। थेवेले गत महाधिवेशनमा थापालाई जिल्ला सभापति बनाउन सघाएका थिए। थेवे २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ४ मा पराजित भएका थिए।
सिटौला पक्षबाट केशबराज पाण्डे र शेरबहादुर भट्टराई उपसभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्। थेवेको प्यानलबाट सचिवमा कृष्ण हुमागाईं र नविन बिमली उठ्ने भएका छन्।
सभापतिका अर्का उम्मेदवार कट्टेललाई जिल्ला सचिव ताराविर कटुवालसहित झापाका नेताहरु लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, उषा गुरुङ लगायतको समर्थन रहेको छ। जिल्ला सभापतिका उम्मेदवार कट्टेलको प्रचारप्रसारका लागि प्रवक्ता शर्माले नै सम्पर्क कार्यालय समेत उद्घाटन गरेका थिए।
झापामा शर्माभन्दा आफूहरु बलियो रहेको सिटौला पक्षको दाबी छ। शर्मा पक्षका नेताहरु भने वडा र पालिका अधिवेशन पश्चात् अन्य तहको संरचनामा आफूहरु बलियो हुँदै गएको दाबी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।