काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि मरिमेट्ने तीन जना नेताहरु केन्द्रीय कमिटीको प्रस्तावित सूचीमा छुटेका छन्।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका विशाल भट्टराई, राष्ट्रिय युवा संघका अध्यक्ष रमेश पौडेल र अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर केन्द्रीय सदस्यमा अटाएका छैनन्।
सचेतक भट्टराई नवौं महाधिवेशनबाट निर्वाचित वैकल्पिक केन्द्रीय सदस्य हुन्। माओवादी केन्द्र र एमालेको एकीकरणपछि बनेको तत्कालीन नेकपामा उनी केन्द्रीय सदस्य थिए।
केन्द्रीय कमिटीमा नअटाएका विषयमा भट्टराईले नेतृत्वले केही सोचेर नराखेको हुनसक्ने बताए। उनले भने, ‘नेतृत्वले केही सोचेरै कमिटीमा नराखेको होला। बहालवाला केन्द्रीय सदस्य भएकाले जानी–जानी छुटाउने कुरा भएन।’
राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल पनि केन्द्रीय कमिटीमा अटाएनन्। उनी ओलीका प्रशंसक हुन्। ओलीलाई केन्द्रमा राखेर उनले ‘मुर्झिएका सपना’ नामको गीत नै सार्वजनिक गरेका थिए। जहाँ ओलीले समृद्धिको सपना देखेकोदेखि राष्ट्रियलाई उचाइमा पुर्याएको बखान छ।
यसैगरी अनेरास्ववियुका अध्यक्ष ऐन महर ओलीका लागि डट्ने युवा नेता हुन्। ओलीकै निर्देशनमा बनेको युथ फोर्समा विद्यार्थीको कमान्ड उनले सम्हालेका थिए।
ओली सत्ताबाट बाहिरिँदा समेत उनलाई बालुवाटारबाट बालकोट पुर्याउने युवाहरुको भीड जम्मा गर्ने एक मुख्य व्यक्ति उनी नै हुन्।
महाधिवेशनको दुई दिनअघि मात्रै ‘आफ्नै क्यामेराले खिचेको ‘बा’ तस्बिर’ भन्दै ओलीले जुंगा मिलाइरहेको तस्बिर उनले ट्वीट गरेका थिए।
यी तीनैजनाले केन्द्रीय सदस्यको आकांक्षा राख्ने उम्मेदवारी घोषणासमेत गरिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।