काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार संवेदनशील रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको बताउँदै ती विधेयक छिट्टै पारित गराउने जानकारी दिए।
नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले सो अवसरमा मन्त्री आलेले राखेको जानकारी गराए। मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे।
कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको बताउँदै मन्त्री आलेले निजीक्षेत्रका प्रतिनिधिलाई पनि समितिमा समावेश गरिने उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिए। उनले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरे।
अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरोत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।