झापा– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नारायणहिटी दरबार संग्रहालय 'कप्लक्कै' खाएको टिप्पणी गरेका छन्। नारायणहिटी 'खानका लागि' बतास समूहलाई लिजमा दिइएको पनि ओलीको भनाइ छ।
गृहजिल्ला झापा पुगेका ओलीले नारायणहिटीमा क्याफे खोल्न दिने कुरामा सरकारको भ्रष्टाचारी अनुहार देखिएको बताए। रामायणको प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘अहिलेको सरकार देखि हाल्नु भयो कस्तो। नाराणहिटी कप्लक्कै पारेको छ। हनुमानलाई खान जसरी मुख बाएका थिए, अहिलेको सरकारले २ सय कोषको मुख बाएको छ।’
बतास समूहका अध्यक्ष आनन्द बतासले 'ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको' भनेर दिएको अभिव्यक्तिको पनि ओलीले खण्डन गरे।
‘सञ्चार माध्यममा बोलाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु भएछ। फोटो पनि खिचाउनु भएछ,’ उनले भने, ‘मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए। छोरासँग बिहे गर्नेजति सबै बुहारी। यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा।’
आनन्द बतासले आफू प्रधानमन्त्री शेरबहादुर देउवाको निकट रहेको र झापाको भद्रपुर ससुराली भएका कारण एमाले अध्यक्ष ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको बताएका थिए।
केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला बतास समूहले नारायणहिटीमा कफी शप खोल्ने अनुमति पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।