‘आन्टी कोठा खाली छ?’
‘छ, छन त! रुम मात्र चाहिएको हो कि फ्ल्याट हो?’ आन्टीभन्दा अघि कौशीमा उभिएका अंकलले जवाफ फर्काए।
‘माथि नै आउनुहोस् न,’ आन्टीले बोलाइन्।
कौशीमा दुई जना घाम तापिरहेका थिए। शनिबार बिहान हुनाले सायद फुर्सदमा थिए।
इमाडोलस्थित गम्भीर विद्यालय नजिकै तीनतले घर छ। कोठा खोज्न निस्किएका हामी दाजुबहिनी सिँढी चढेर दोस्रो तला पुग्यौँ। एउटा कोठा खाली रैछ। कोठामा छिर्नेबित्तिकै घरबेटी आन्टीले सोधिन्, ‘नानीबाबु के थरी हो?’
उनको कुरा भुइँमा खस्न नपाउँदै घरबेटी अंकल बोले, ‘आजभोलि थर सोध्ने होइन, जेल पुगिन्छ।’
अंकल योभन्दा धेरै बोलेनन्। आफ्नो कोठातिर लागिहाले। हामी सबै गलल हास्यौँ मात्र। अनि एकछिन वातावरण सुनसान भयो। हामी कोही बोलेनौँ।
हामीले थर बताएनौँ। तीन जना बस्ने जानकारी दियौँ। तर, आन्टीले एउटा कोठामा दुई जनाभन्दा बढी बस्नेगरी नदिने बताइन्।
‘अझ विद्यार्थी मान्छे हल्लाखल्ला गर्छन्। साथी ल्याउँछन्। राति राति आउनेलाई गेट खुला राख्न सकिँदैन। केटा बसे भने त सफा पनि गर्दैनन्,’ उनले भाडामा बस्नेप्रति आरोपका खात राखेकी रहिछन्। हामीले उनलाई मनाउन सकेनौँ।
उनको बाट फर्किँदै गर्दै दुई वटा नाम रुपा सुनार र दीपा नेपालीलाई सम्झिरहेँ। यी घटना ‘घटना’ मात्र नभएर परिवर्तनका लागि एक–एक पाइलो रहेछन्। उनीहरूसँग चिनजान भएको भए धाप मारेर ‘धन्यवाद’ भन्न मन लाग्यो। रुपा सुनारको घटनाले त धेरै घरबेटीको दिमाग हल्लाएको रहेछ।
म शहर (काठमाडौँ) आएपछि एकदम धेरै सामना गरेको प्रश्न हो, ‘तिम्रो थर के हो?’
गाउँ हुँदा प्रायः दलित समुदायका साथीहरूले थर सोध्थे। म धेरै पछिसम्म जात र थरमा अलमल हुन्थेँ।
वास्तवमा मेरो थर लवार हो। मेरो बुवाको पुस्तासम्म हाम्रो थर लवार नै लेखिएको छ। उहाँको नागरिकता देखेको छु। तर, दाइहरूसम्म आइपुग्दा विश्वकर्मा लेखियो। अनि म पनि विश्वकर्मा भएँ।
लवार भनेको विश्वकर्मा अर्थात् कामी जात हो भन्ने थाहा पाउन मलाई लामै समय लाग्यो। गाउँमा ‘थाहा’ पाएँ, शहरले ‘महसुस’ गरायो।
यो शहरको कथा हो।
मैले २०७२ सालमा भूकम्प आएकै दिन, अर्थात् वैशाख १२ गते काठमाडौँ टेकेकी हुँ। कैलालीको अत्तरियाबाट अघिल्लो दिन बस चढेकी म भूकम्पले धर्ती काँपिरहँदा यात्रामै थिएँ।
काठमाडौं आइपुग्दा हामी अलपत्र भयौँ। फोन चलिरहेको थिएन। जोसँग भेटिनुपर्ने हो, भेट भएन।
बरु सर्पलाल गिरी र धर्म रोकायासँग भेट भयो। दुवै जना मेरा अग्रज हुन्। धर्म रोकाया त मेरा गुरु पनि। उहाँहरूलाई देखेपछि अब अलपत्र परिँदैन भन्ने हिम्मत आयो। केही गफिएर बस्यौँ। हामी गफिँदा गफिँदै मेरो दाइ गगन आइपुग्यो। फोन नलागेपछि ऊ अनुमानको भरमा हामीलाई खोज्दै आएको रहेछ।
हामी चक्रपथ चल्ने बसमा कोटेश्वरतिर लाग्यौँ। अनि गगनको डेरा पेप्सीकोला पुग्यौँ। डेरा पुग्ने बेला गगनले भन्यो, ‘जात सही नभन्नू है। मैले बीसी भनेको छु। सोधे भनेँ बीसी अर्थात् बुढाक्षेत्री भन्नू।’
म छाँगाबाट खसेजस्तै भएँ। जातीय विभेद त पाइला–पाइलामा भोगेको हो। तर, कतै जात लुकाएको थिइनँ। काठमाडौँ पसेकै दिनदेखि यो समाजले जात लुकाउन बाध्य पारिसकेछ।
दोलखाका घिमिरे थरका घरबेटी थिए। आन्टी साह्रै बुझ्ने। जातको मामिलामा उनीहरूको दृष्टिकोण मलाई थाहा थिएन।
गगनले मेरा सबै शैक्षिक प्रमाण-पत्र र परिचय-पत्र बक्सवाला खाटमा राखेर ताल्चा लगाइदियो। दाइले जात ढाँटिसकेकाले हामीले थप ढाँट्नु परेन।
तर, कतै प्याच्चै भनिहालियो भने के गर्ने? मनमा ठूलो डर थियो। मनमा बेलाबेला भुइँचालोभन्दा ठूलो कम्पन हुन्थ्यो। यो डर किन पनि भयो भने, भूकम्पको त्रास केही कम भएपछि म घरबेटीको छोरालाई ‘होम ट्युसन’ पढाउन थालेँ।
गोठाटार, काँडाघारी क्षेत्रमा मदन-आश्रित कलेज पढ्ने धेरै साथी बस्थे। दलितहरू प्रायः सबै जात ढाँटेर नै बस्थे।
यता हाम्रो कोठामा गगन मात्र थिएन। ऊ बाजुराकै पाण्डुसैनको प्रेम रोकाया दाइ र साप्पाटाको निश्चल बुढासँग बस्थ्यो। त्यही भएर उ क्षेत्री नै भएको थियो। म त सामाजिक सन्जालमा थिइनँ। तर, गगन र अमरले त्यहाँ बसुन्जेल फेसबुकको आफ्नो ‘टाइमलाइन’मा थर लेखेनन्। अहिले घरबेटीको छोरा र हामी फेसबुकमा साथी छौँ। हाम्रो पूरै नाम र थर लेखिएको छ। उनीहरू के सोच्छन् मलाई थाहा छैन।
त्यहाँबाट हामी तिलगंगातिर डेरा सर्यौँ।
त्यहाँका घरबेटी देउला थरका (दलित नेवार) थिए। त्यसपछि कीर्तिपुरको चारधारा नजिकै बस्यौँ। त्यहाँका घरबेटी गोरखा आरुबारीका मगर थर थिए। सानेपामा चटपटे बेच्थे। दुई तीन महिनामा एक पटक मात्र रेखदेखमा आउँथे।
पहिलो लकडाउन भएको तीन महिनापछि उनको व्यवसाय चौपट भयो। अनि घर सरेर बस्न थाले। उनलाई थर ढाँटनौँ। विश्वकर्मा नै बतायौँ। उनीहरु साईबाबाका अनुयायी थिए। घरबेटी अंकलले आन्टीलाई थर नभन्नू भने।
आन्टीलाई हाम्रो थरबारे खूब खुलदुली रहेछ। एक दिन सोधी त हालिन्।
‘थर थाहा पाए फेरि हामीलाई कोठाबाट निकाल्ने होला नी, आन्टी!’ मैले मजाकजस्तो गरेर उनको मन जाँचेकी थिएँ। उनी जातपातमा कट्टर छिन् भन्ने मैले करिब बुझेको थिएँ। त्यसरी थर नभनेपछि त उनलाई झनै खुलदुल भएछ।
कीर्तिपुरबाट गएको वर्ष हामी बालकुमारी, इमाडोलमा डेरा सर्यौँ। अहिलेका घरबेटी थापाक्षेत्री हुन्।
भाडामा सहमति भएर कोठा सर्ने दिनसम्म पनि घरबेटीले थर सोधेकी थिइनन्। हामीले पनि आफैँ बताएनौँ। जब हाम्रा सामान कोठामा थन्कायौँ, घरबेटी आमाले आएर थर सोधिन्। मैले सत्य बताइदिएँ। अनि, उनले आफैँ स्पष्टीकरण दिइन्, ‘मधेसीजस्तो लागेर सोधेको।’
तर, न मेरो वर्ण त्यस्तो छ, न त लवज नै। म सुदूरपश्चिमको मान्छे, उतैको लवज छ।
घरबेटी आफैँले भनिन्, ‘तपाईंको छिमेक कोठामा बाहुन थरका मान्छे बस्छन्। बुढी आमा नि हुनुहुन्छ। उहाँहरूलाई थर नभन्नुस् है।’
म चुपचाप भएँ। तर, छिमेकमा भाडामा बस्नेले कहिल्यै थर सोधेनन्। किनकि, त्यहाँ बस्न थालेको एक दुई दिनमा नै त्यताकी दिदी र म फेसबुकमा साथी भयौँ। उनी कोइराला म विश्वकर्मा। ढाँट्ने कुरै भएन।
हाम्री घरबेटी कांग्रेसको १४औं महाधिवेशनमा प्रतिनिधि थिइन्। राजनीतिक र सामाजिक क्रियाकलापमा सहभागी छिन्। तर, जातको मामिलामा ‘मगजको बिर्को’ पूरै खुलेको रहेनछ।
कानुनले जातीय छुवाछूत र विभेदलाई वर्जित गरेको छ। तर, हरेक दलितले पाइला–पाइलामा विभेद भोग्नुपर्छ। विभेद र छुवाछुत त दैनन्दिन नै भइसक्यो। प्रत्यक्षको प्रमाण र सत्यको सफाइ जरुरत हुँदैन।
विभेद र छुवाछुत गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने हो भने सिङ्गै गैरदलित समुदाय (तपाईं अधिकांश शब्द प्रयोग गर्नसक्नुहुन्छ) विरुद्ध जाहेरी दर्ता गर्नुपर्छ। यो झनै जटिल विषय हो।
यो 'ओपन सिक्रेट' छ कि, अधिकांश घरबेटीले दलितलाई कोठा दिन मान्दैनन्। ती सबैको उपाय भनेको कानुनी कारबाही मात्र होइन। सोचमा नै परिवर्तन हुन जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।