काठमाडौं– मामाघरबाट गहना र नगद पक्राउ गरेको आरोपमा दाङ प्रहरीले १ किशोर र उनका साथी गरी २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङका १८ वर्षीय बसन्त खत्री र उनका साथी सोही ठाउँ घर भएका २३ वर्षीय खेमराज चौधरी छन्।
प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङकी गंगा देबी क्षेत्रीले आफ्नो घरको पूजाकोठामा रहेको काठको बाकस तोडेर गहना र नगद लुटपाट भएको भन्दै इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएकी थिइन्।
पुस २४ गते रातिको समयमा गहना चोरी भएको भन्दै क्षेत्रीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा परिवारका सबै सदस्य र आफन्तसँग सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा गंगा देबीका नाति पर्ने बसन्तको जवाफ र व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको थियो।
निगरानीका क्रममा बसन्तले मोबाइल समेत बोकेको देखिएको र मोबाइलबारे सोधपुछ गर्दा एउटा सिमकार्ड दाँतले चपाएर फालेपछि प्रहरीले उनलाई 'मामाघरकी हजुरआमाको गहना कहाँ छ?' भन्दै सोधपुछ गरेको थियो।
त्यसपछि बसन्तले आफूसहित साथी खेमराजले मिलेर चोरी गरेको र चोरी गरेको गहना तथा नगद लुकाएर राखेको बयान दिएका थिए। प्रहरीका अनुसार बसन्तले नगद ३९ हजार ५०० रुपैयाँ वडा कार्यालय पछाडिको झुपडीमा लुकाएर राखेको बयान दिएका थिए भने खेमराजले स्थानीय रामजानकी मन्दिरको पछाडि खाल्डो खनेर गहना लुकाएको बयान दिएका थिए।
उनीहरुले भनेको स्थानमै गएर हेर्दा प्रहरीले लुटिएको गहना र नगद रकम समेत फेला पारेको छ। प्रहरीका अनुसार उनीहरुले लुटेको सुनको बाला ५ थान, मंगलसुत्र १ थान, सुनको सोली ४ थान, चाँदीको सिक्का समेत गरी ४ लाख ५२ हजार मूल्य बराबरको गहना, ३९ हजार ५०० रुपैयाँ नगद र एउटा मोबाइल फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।