काठमाडौं– उत्तरी छिमेकी राष्ट्र चीनले नेपालसँगको सिमानामा कुनै समस्या नरहेको दाबी फेरि दोहोर्याएको छ। नेपालस्थित चिनियाँ दूतावासले यस्तो दाबी गरेको हो। दूतावासले बिहीबार राति साढे ९ बजे आफ्नो फेसबुक पेजमा दूतावासका प्रवक्ता वाङ सियाओलोङसँगको कुराकानी राख्दै यस्तो दाबी गरिरहँदा सञ्चारमाध्यमहरुलाई पनि सोही व्यहोरा इमेलमार्फत् पठाएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग लिपुलेक क्षेत्रमा सडक विस्तार गर्ने अभिव्यक्ति दिएर विवाद निम्त्याएको बेला चिनियाँ दूतावासका प्रवक्ताको यस्तो भनाइ आएको हो। भारतीय प्रधानमन्त्रीले नेपालको सार्वभौमिकतामा असर पार्ने अभिव्यक्ति दिइरहँदा दलहरुले विरोध गरे पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिलेसम्म यसबारे मुख खोलेको छैन। सरकारले कुटनीतिक च्यानलबाट पनि कुनै प्रतिक्रिया जनाएको छैन। र, यहीबेला चीनले अचानक आफ्नो सीमानासँगको प्रसंग निकालेको हो। कतिपय जानकारहरुको तर्क छ– चीनले भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिबाट सशंकित नेपाली मनोविज्ञान बुझेर यस्तो चाल चलेको हो।
गत वर्ष हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको आरोप लागेको थियो। यो विषय बाहिर आएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले हुम्लाको नाम्खा गाउँपालिकास्थित ११ नम्बर पिल्लर छेउमा 'चिनियाँ पक्षले व्यापारिक प्रयोजनको भवन बनाएर सीमा मिचेको' चर्चाबारे छानबिन गरेको थियो। तर, सरकारले पछि सीमा नमिचिएको भनेको थियो। चीनले बनाएको भवन उसकै भूमिमा रहेको सरकारले बताएको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नै यसबारे प्रष्ट पारेका थिए।
सार्वजनिक सञ्चारमाध्यममा सीमा मिचिएको विषय आएपछि चीनले पनि खण्डन गरेको थियो। त्यसबेला नेपालस्थित चिनियाँ दूतावासले पनि नेपालसँग कुनै सीमा विवाद नभएको दाबी गरेको थियो।
लगत्तै नेपाली कांग्रेससहितको सरकार बनेपछि यो विवादमा छानबिन समिति निर्माण गरेको थियो। समितिले हुम्ला पुगेर अध्ययन प्रतिवेदन तयार पारेको थियो। तर, अध्ययन प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।
फेरि मित्रता सम्झाउँदै चीन
‘मैले सान्दर्भिक रिपोर्टहरू याद गरेको छु। चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको अडिग रूपमा पालना गर्छ। नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्छ’, बिहीबार राति सार्वजनिक धारणामा दूतावासका प्रवक्ता वाङले भनेका छन्, ‘समानता, पारस्परिक लाभ र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारमा चीनले द्विपक्षीयमैत्री सम्बन्ध विकास गर्छ। चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसिएटिभको महत्त्वपूर्ण साझेदारको रूपमा लिन्छ। र, नेपाललाई दिएको सहयोगमा कुनै राजनीतिक शर्त राख्दैन।’
चिनियाँ दूतावासले चीन र नेपालले सन् १९६० को दशकदेखि नै मैत्रीपूर्ण परामर्शबाट सीमा समस्या समाधान गरेको र कुनै विवाद नभएको बारम्बार स्पष्ट गर्दै आएको उनले दाबी गरेका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको र नेपाल सरकारले पनि घटनास्थलमा छानबिन गर्न टोली पठाएको भन्दै दूतावासका प्रवक्ताले भनेका छन्, ‘दुई देशका अधिकारीहरूले सीमासम्बन्धी मामिलामा राम्रो सञ्चार कायम राख्छन्। व्यक्तिगत झुटा रिपोर्टबाट नेपाली जनता भ्रममा नपरून् भन्ने कामना छ।’
कोभिड–१९ महामारीको प्रकोपपछि चीनले नेपाललाई ठूलो मात्रामा भ्याक्सिन र तरल अक्सिजनलगायतका चिकित्सा सामग्री उपलब्ध गराएको स्मरण गर्दै उनले नेपाललाई महामारीको प्रभावसँग जुध्न सघाएको र चिनियाँ पक्षले ठूला कठिनाइहरू पार गर्दै नेपालका लागि एकतर्फी कार्गो ढुवानी खोलेको दाबी गरेका छन्।
‘बन्दरगाहहरूको कार्गो ह्यान्डलिङ क्षमतालाई निरन्तर बढाइएको छ, जसले नेपालमा महामारी विरोधी र जीविकोपार्जन सामग्रीको आपूर्ति सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ’, उनले भनेका छन्, ‘हाल सबै देशको सर्वोच्च प्राथमिकता भनेको महामारीविरुद्ध एकजुट भएर लड्नु र यसलाई संयुक्त रूपमा परास्त गर्नु हो।’
चीन बोल्नुको अर्थ
नेपालस्थित चिनियाँ दूतावासले यहीबेला सीमा विवाद र नेपाल–चीन सम्बन्धबारे प्रष्टीकरण दिनुको कुटनीतिक अर्थ के हो त? कुटनीतिका जानकारहरु यसलाई फरक फरक रुपमा अथ्र्याउँछन्।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका परराष्ट्रविज्ञ दिनेश भट्टराई चीनले आफ्नो धारणा प्रष्ट्याउने प्रयत्न गरेको बताउँछन्। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराखण्ड भ्रमण र त्यसक्रममा दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको सम्बन्धमा आशंका उब्जिएका बेला आफ्नो कारणले पनि कुनै अन्योल नहोस् भन्नेमा चीन सचेत बनेको र त्यसबारे प्रष्ट्याउन खोजेको देखिन्छ’, भट्टराईले नेपाल लाइभसँग भने।
मोदीले केही दिनअघि नेपाली भूभाग लिपुलेकबाट मानसरोवर कैलाश पुग्ने सडक निर्माणलाई तीब्रता दिने घोषणा गरेका थिए। मोदीको यस्तो अभिव्यक्तिले सीमा विवाद सतहमा आएपछि आफूमाथि पनि प्रश्न उठ्ला भनेर चीन सतर्क भएको उनको बुझाई छ। ‘चिनियाँ नाकामा नेपाल आउने कन्टेनरहरु रोकिएका छन्, त्यसले पनि आफूमाथि प्रश्न उठ्ला भनेर चीनले प्रष्ट पार्न खोजेको होला’, उनले भने।
बेइजिङमा नेपाली राजदूत रहिसकेका एमाले नेता टंक कार्की चीन विगतदेखि नै आफ्ना कुरामा प्रष्ट रहेको बताउँछन्। अहिले पनि त्यही कुरा प्रष्ट पार्ने प्रयास गरेको उनको बुझाई छ। ‘पछि विवाद नआओस् र त्यसमा आफूमाथि प्रश्न नउठोस् भनेर उसले पहिल्यै प्रष्ट्याउन खोजेको देखिन्छ’, कार्कीले भने, ‘चीनले पहिलेदेखि नै सीमा विवाद छैन भन्दै आएको छ। विवाद छ कि छैन भनेर सरकारले प्रष्ट पार्ने हो। यसबारे अध्ययन गरेको टोलीको प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन। समस्या भए पनि कुटनीतिक रुपमा समाधान गर्नुपर्छ।’ उनले भारत र चीन दुवै देशले नेपालसँगको सीमा विवाद चाँडै समाधान गरेर लाभ लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।