काठमाडौं– विभागीय क्लब एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवित राखेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दिनको पहिलो खेलका एपीएफले द हिमालयन शेर्पालाई १-० ले पराजित गरेको हो।
एपीएफलाई जित दिलाउन आभास लामिछानेले निर्णायक गोल गरे। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा कप्तान नविन लामाको कर्नरमा आभास लामिछानको हेडर गोलमा एपीएफले अग्रता लिएको थियो। सोही गोल एपीएफको जितका लागि पर्याप्त बन्यो।
आभासको गोलबाहेक दुवै टोलीले पाएको अन्य मौकाको सदुपयोग गर्न सकेनन्। त्यसअघि खेलको दोस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गरेका थिए। तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन।
२०औं मिनेटमा मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले गोल गर्ने अवसर गुमाएको थियो।
इन्जुरी समयको दोस्रो मिनेटमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर गुमायो। एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिएको थियो।
६३औं मिनेटमा हिमालयनका मिलन राईको कर्नरमा उल्रिच सिवेको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो।
७१औं मिनेटमा एपीएफका युवराज खड्काको पेनाल्टी क्षेत्र भित्रबाटको प्रहार हिमालयनका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाउ गर्दै संकट टारे।
७५औं मिनेटमा हिमालयनका मुतुम्बा पिस्टनले गरेको फ्रिकिक प्रहार एपीएफका गोलकिपर कुरियामाले मुश्किलले बचाए।
८३औं मिनेटमा एपीएफका मणि लामाको प्रहार हिमालयनका गोलकिपर किशोरले बचाए। बाँकी समयमा दुवै टोलीबाट लोभलाग्दो मुभ बनेन।
जितसँगै एपीएफ ९ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ। समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।