काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघको पहिलो हप्ताभित्र स्थानीय तहको मिति घोषणा भइसक्नुपर्ने बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा स्थानीय तहदेखि संघीय संसद्सम्म प्रतिनिधित्व गर्ने दलहरुसँग छलफलमा उनले आयोगको धारणा प्रष्ट पारेका हुन्।
‘स्थानीय तहको निर्वाचनको विकल्प छैन। समयमै निर्वाचन गर्नुपर्छ। कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ। त्यसो भएको हुनाले छिट्टै निर्वाचनमा जानुपर्छ। माघको पहिलो हप्तासम्म निर्वाचनको मिति घोषणा हुनुपर्छ भन्ने उहाँको ठम्याइ थियो’, आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले थपलियाले राखेको धारणा उद्धृत गर्दै भने।
आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ मा गर्न प्रस्ताव गरेको छ। तर आयोगले आफूहरुलाई उपलब्ध हुनुपर्ने १२० दिन घर्किँदै गरेकाले कठिनाइ हुने बताएको थियो। ‘वैशाखको १४ गते एकै चोटि निर्वाचन गरौं भन्ने कुरालाई मान्ने हो भने एक सय दिनभन्दा बढी दिन बाँकी नरहेको कारणले गर्दा हामीलाई अप्ठ्यारो परिरहेको छ’, आयोगको धारणा उद्धृत गर्दै एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘हामीले एक सय दिनमै पनि गर्न त तयार छौं। तर सरकारले निर्णय गर्न बाँकी छ।‘
आयोगले पहिलो पटक निर्वाचन भएको २०७४ वैशाख ३१ कै मितिलाई आधार मानेर पाँच वर्ष गणना हुने पनि प्रष्ट पारेको छ। त्यतिबेला २०७४ असार र असोजमा क्रमशः दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका थिए।
‘आयोगको बुझाइमा वैशाख ३१ बाट सात दिनपछि लेखिएको छ। जेठ ६ गतेबाट कार्यकाल सुरु हुन्छ’, प्रवक्ता शर्माले भने। उनका अनुसार, आयोगको बुझाइमा आज दलका प्रतिनिधिहरु पनि लगभग सहमत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।