काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आन्दोलन न्यायाधीशहरुको गुटको आन्दोलन भएको भन्दै त्यसमा नेकपा एमाले नलाग्ने बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले न्यायाधीशहरुको गुटको लडाइमा एमाले नलाग्ने बताएका हुन्।
‘न्यायलयको सुधारका लागि होइन त्यो आन्दोलन। सुधारको अजेन्डामा आन्दोलन केन्द्रीत छैन,’ ज्ञवालीले भने,‘एउटा व्यक्तिलाई हटाएर अर्को बनाउने खेल मात्रै हो। मानिसहरु न्यायको खोजिमा छन्। मुद्दाको चाङ लागेको छ। आन्दोलन जनताको हितमा छैन। स्वच्छ र न्यायको क्षेत्रमा केन्द्रीत छैन।’ उनले अर्को प्रसंगमा बालुवाटार जग्गा प्रकरणका दोषीलाई उन्मुक्ति दिने वर्तमान सरकारको योजना भएको बताए।
‘सीआईबीले दुई वर्ष लगाएर गरेको अनुसन्धानलाई असफल बनाउन खोजिदैँछ। दोषीलाई कारबाही गर्ने विषय कमजोर बनाउने विरुद्ध हामी सशक्त रुपमा दबाब दिन्छौं,’ उनले भने।
उनले भारतले सडक बनाउने विषयमा सरकार बोल्नै नसक्ने अवस्थामा रहेको भन्दै भारतले यो निर्णय तत्काल सच्चाउनुपर्ने बताए। ‘एकतर्फी हिसाबले गरिने कामले सम्बन्ध राम्रो बन्दैन। सरकारले यस विषयमा राष्ट्रिय हितमा बोल्न सक्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।