काठमाडौं- नबिल बैंक लिमिटेडले आफ्ना सेयधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको शुक्रबार सम्पन्न ३७औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।
पारित प्रस्तावअनुसार नबिलका सेयरधनीले ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश पाउने छन्।
बैंकले गत आवमा निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ। नबिलले उक्त आवमा चार अर्ब ५३ करोड रुपैयाँ मुनाफा हासिल गरेको हो। बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ हासिल गरेको प्रतिवेदन साधारणसभामा प्रस्तुत गरेको छ।
‘समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुगेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अध्यक्षमा पुनः पौडेल
यसैबीच, शुक्रबार नै सम्पन्न बैंक सञ्चालक समितिको ५८८औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई चयन गरेको छ।
पौडेल २०७४ मंसिर १५ देखि बैंक सञ्चालक समिति एनबी (इन्टरेनसनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा एनबी (इन्टरेनसनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।