काठमाडौं- मनाङ मर्स्याङ्दी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा मनाङ सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो। यस हारसँगै १९ अंकसहित दोस्रो स्थानमा रहेको मनाङले शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ।
मनाङ शीर्षस्थानको मछिन्द्र क्लबभन्दा मात्र एक अंकले पछि छ। मछिन्द्रले मनाङको भन्दा एक खेल कम खेलेको छ।
सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र अजयी मार्टिन्सले एक/एक गोल गरे। मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए। खेलको सुरुआतदेखि नै आठ पटकको लिग विजेता मनाङलाई दबाबमा राखेको सातदोबाटोले पहिलो हाफमै २ गोल गर्दै आरमदायी अग्रता बनाएको थियो।
खेलको छैटौं मिनेटमा सातदोबाटोका निरज चौधरीले पेनाल्टी एरियाको ठिक बाहिरबाट गरेको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले मुश्किलले बचाए। ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लियो। आकाश बुढामगरको कर्नरमा सुदीप गुरुङले उपलब्ध गराएको हेड पासमा मार्टिनले हेडमार्फत् सहजै गोल गरे।
३५औं मिनेटमा निरज चौधरीले प्रहार गरेको सशक्त प्रहार पोस्ट बारमा लागेर फर्किँदा सातदोबाटो अग्रता दोब्बर बनाउन चुक्यो। ३८औं मिनेटमा सातदोबाटोले अग्रता दोब्बर बनायो। प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका अजयीले हेडरमार्फत् सातदोबाटोको अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफको इन्जुरी समयमा अञ्जन विष्टको प्रहार सातदोबाटोका गोलरक्षक अभिषेक बरालले पञ्च गर्दे बाहिर पठाएपछि मनाङ गोलअन्तर कम गर्ने अवसर गुमायो।
लिगमा उत्कृष्ट सुरुआताका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटोले दोस्रो हाफमा केही डिफेन्स खेलेको थियो। यसका बाबजुद मनाङले पोस्ट लगातार बल प्रहार गर्दा सातदोबाटोका रक्षकहरु व्यस्त बनेका थिए। ५७ औं मिनेटमा मनाङले गोल फर्कायो। पुजन उपरकोटीको कर्नरमा सातदोबाटोका डिफेन्डरले बल क्लियर गर्न नसक्दा ओलावालेले सहजै गोल गर्दै मनाङलाई २-१ को स्थितिमा ल्याए।
६९औं मिनेटमा दिपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फ्याँक्यो। ७३औं मिनेटमा निशार लिम्बुको प्रहार सातदोबाटोका गोलरक्षक अभिषेकले सहजै नियन्त्रणमा लिए।
खेलको इन्जुरी समयमा मनाङका कप्तान अन्जनको प्रहार सातदोबाटोका अभिषेकले बचाए। जितसँगै सातदोबाटो ९ खलमा १२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।