काठमाडौं- घरेलु टोली दक्षिण अफ्रिकाले भारतसँगको टस्ट सिरिज २–१ ले जितेको छ। पहिलो टेस्ट गुमाएपनि त्यसपछि लगातार दुई जितसँगै तीन टेस्ट खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ।
शुक्रबार भएको तेस्रो तथा निर्णायक टेस्ट खेलमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज जितेको हो।
२ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिन ६३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। दक्षिण अफ्रिका किगन पिटरसनले सर्वाधिक ८२ रनको इनिङ खेले। उनले १ सय १३ बलमा १० चौका प्रहार गरे।
रास्सी भान डर डुसेन ४१ र टेम्बा बभुमा ३२ रनमा अविजित रहे। तेस्रो दिनको अन्तिम समयमा कप्तान डिन एल्गर ३० रनमा क्याच आउट भएका थिए।
ओपनर एडेन माक्ररम १६ रनमा क्याच भए। दोस्रो विकेटका लागि एल्गर र पिटरसनले ७८ रनको साझेदारी गरेपछि घरेलु टोली दक्षिण अफ्रिकाले मजबुत सुरुवात गरेको थियो।
भारतका मोहम्मद शामी, शार्दुल ठाकुर र जस्प्रित बुमराहले १–१ विकेट लिए। त्यसअघि भारत दोस्रो इनिङ्समा ६७.३ ओभरमा १ सय ९८ रनमा अलआउट भयो। पहिलो इनिङ्समा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।
भारतका विकेटकिपर ऋषभ पन्तले सय रनमा अविजित रहे। पन्तको यो टेस्ट करिअरको चौथो शतक हो। उनले १ सय ३९ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
यता, विराट कोहली २९ रन जोडे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। दक्षिण अफ्रिका मार्को ज्यानसनले सर्वाधिक ४ विकेट लिए। कागिसो रबाडा र लुन्गी एनगिडीले ३–३ विकेट लिए।
भारत पहिलो टेस्टमा १ सय १३ रनले विजयी भएको थियो। दोस्रो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।