काठमाडौं- नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल छाडेर एमालेमै रहेका नेताहरू भूमिकाविहीन भएका छन्।
शुक्रबारको बैठकमा पेस भएका दस्तावेजमाथि छलफलका लागि १० वटा समूह बनाइए पनि शनिबार समूहगत छलफलको निष्कर्ष सुनाउने टोली नेतामा नेपाल छोडेर आएकाले जिम्मेवारी पाएनन्।
बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको थियो।
प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना र कर्णालीबाट यमलाल कँडेल टोली नेता चयन भएका छन्।
यस्तै, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउने छन्।
समूहगत छ्लफलको सुझावपछि अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन्।
विधान संशोधन प्रस्तावमा पार्टी अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिव नेतृत्वमा कार्यालय रहने भन्ने व्यवस्था उपयुक्त नहुने विषयमा उपत्यका विशेष समन्वय कमिटीले सुझाव दिने भएको छ।
यसको ठाउँमा अध्यक्षको परामर्शमा महासचिवले सचिवालयको नेतृत्व गर्ने र प्रशासनिक काम यसभित्र एउटा क्षेत्र बनाउने र सचिवालयले कार्य प्रणालीलाई आधार बनाएर पार्टी अध्यक्षले स्थायी कमिटी र केन्द्रीय कमिटीमा विषयवस्तु प्रस्तुत गर्ने प्रणाली नै उपयुक्त हुने सुझाव दिने भएको छ।
शुक्रबारको बैठकमा भीम रावलसहितका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए। एमाले केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।