काठमाडौं- रुपन्देहीको बुटवलअन्तर्गत मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी)सहित ४९ जना सुरक्षाकर्मी घाइते भएका छन्।
आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झडप भएको हो। उक्त झडपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी बलका (एसपी)सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घाइते भएका छन्।
झडपमा सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, हवल्दारहरु दिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तीलबहादुर धामी, रुद्रबहादुर खत्री, जनकराज जोशी रविन्न्द्रकुमार गौड र चुमानसिंह थापा घाइते भएका छन्।
यस्तै, सशस्त्र प्रहरीका जवानहरु सन्तोष बस्नेत, इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त डिसी, लोकनाथ खनान, गणेश रावत, प्रेम बिक सुरज दयाल र कृष्णबहादुर थापा घाइते भएको सशस्त्र प्रहरीका एसपी राजेश उप्रेतीले जानकारी दिए।
यस्तै, नेपाल प्रहरीतर्फ ३० जना घाइते भएका छन्। त्यस्तै, सर्वसाधारणतर्फ गुल्मीका ३२ वर्षीय जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गम्भीरसिंह डिसा, नवलपरासी पश्चिमका सर्वेस केवट, पाल्पाका ३८ वर्षीय प्रेम कामी घाइते भएका छन्।
घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।
उनका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ। तीमध्ये एक जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा वाणगंगा-१० कपिलवस्तुका रमेश परियार छन्। अन्य तीन जनाको सनाखत भएको छैन।
बिहान ११ बजे ठूलो संख्यामा आएका सुकुम्बासीले अतिक्रमण भएको जग्गाको सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुंगा-मुढा, पेट्रोल बम प्रहार गर्दै आक्रमण गरेको उनले दाबी गरेका छन्।
त्यसपछि सुरक्षाकर्मीले पहिला अश्रु ग्यास र पानीको फोहरा प्रहार गर्दा पनि आक्रमण गर्न नछोडेपछि बाध्यात्मक अवस्थामा गोली चलाउन परेको प्रजिअ तिवारीले बताए।
‘हामीले स्थितिलाई सामान्य अवस्थामा ल्याउन अनेक प्रयास गर्यौं। प्रहरीले पानीको फोहरा, अश्रु ग्यास, हवाइ फायर प्रहार गर्दा पनि आक्रमण नरोकिएन र प्रहरीहरु घाइते भएपछि बाध्य भएर ड्युटीमा रहेका प्रहरीले ज्यान जोगाउन गोली प्रहार गर्नुपर्ने अवस्था सृजना भयो,’ उनले भने।
पहिला अतिक्रमित जग्गाको सुरक्षार्थ खटिने प्रहरीका लागि स्थापना गरिएको अस्थायी पोष्ट जलाइदिएका थिए। पछि प्रहरी बस्नका लागि टाँगिएका पाल खोसेर लगेका थिए।
त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन गरिएका अनेकन प्रयास असफल भएपछि अन्तिम अवस्थामा गोली चलाउने अवस्थामा पुगेको प्रजिअ तिवारीको भनाइ छ।
सुकुम्बासी र प्रहरीबीचको झडपमा परेर घाइते भएकालाई अस्पताल पुर्याउन एम्बुलेन्स ल्याएर आएकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) विमला विश्वकर्मालाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर केही घण्टा अपहरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।