काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको काज सरुवा भएर तत्काललाई रोकिएको पाइएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले एसएसपी सिंहलाई परिसर काठमाडौंबाट भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा गरेका थिए। काठमाडौं परिसरको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा कार्यरत रहेका एसएसपी सुदिप गिरीलाई दिइएको थियो। यसरी गुपचुप रहेको उक्त काज सरुवाको निर्णय तत्काल कार्यान्वयन नहुने भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
एसएसपी सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेको आउँदो मंसिर ५ गते एक वर्ष पुग्दैछ। एक वर्ष पुग्न केही दिन बाँकी छँदै बिना कारण सरुवा गर्दा नराम्रो सन्देश जाने भन्दै तत्काललाई काज सरुवा रोक्न भन्दै गृहमन्त्रीलाई दबाब आएपछि तत्काल काज सरुवा कार्यान्वयन नहुने भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
गृहमन्त्री खाँणले गरेको उक्त काज सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निर्देशन दिएकाले तत्काललाई सरुवा रोकिएको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।