काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनअन्तर्गत विद्यार्थी संगठनहरूले संकलन गरेको १ रुपैयाँ नेपाल आयल निगमका कर्मचारीले बुझ्न अस्वीकार गरेका छन्।
बिहीबार संयुक्त विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रतिकात्मक रुपमा संकलित १ रुपैयाँ आयल निगमका कर्मचारीलाई बुझाउन खोजेका थिए। तर, निगमका कर्मचारीले १ रुपैयाँ लिन अस्वीकार गरे।
निगमका कर्मचारीले १ रुपैयाँ बुझ्न नमानेपछि विद्यार्थी संगठनहरुले निगम अगाडि नै नाराबाजी चर्काएका थिए।
आयल निगम अगाडि चर्को नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीहरुलाई तितरबितर पारेको थियो।
‘हामीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधका रुपैयाँ १ एक रुपैयाँ बाकसमा संकलन गरेर महाप्रबन्धक सुरेन्द्र पौडेलसँग समय मागेर बुझाउन खोजेका थियौ,’ अखिल क्रान्तिकारीका नेता मदन ढकालले भने, ‘तर, त्यहाँका कर्मचारी महाप्रबन्धक हुनुहुन्छ पैसा पनि लिन्नौ भनेपछि लगतै प्रहरी आएर हस्तक्षेप भयो।’
पेट्रोलियम पदार्थको विरोधमा विभिन्न ६ विद्यार्थी संगठनहरुले दैनिकजसो विरोध गर्दै आएका छन्। बढाइएको मूल्य फिर्ता लिने सन्दर्भमा विद्यार्थी संगठनहरुले नेपाल आयल निगम र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुसँग वार्ता पनि गरिसकेका छन्। तर, सरकारले त्यस विषयमा कुनै निर्णय लिन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।