काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कञ्चनपुरको जिल्ला अधिवेशनमा संस्थापन (सभापति शेरबहादुर देउवा)पक्षकै २ गुट आपसी प्रतिस्पर्धामा उत्रिने भएका छन्।
कञ्चनुपरमा पार्टीको नेतृत्व हत्याउन देउवा पक्षका नेता रमेश लेखक र एनपी साउद पक्ष प्यानल नै बनाएर भिड्न लागेका हुन्।
नेता लेखक र साउद पक्षबीच वडा तहदेखि नै प्यानलगत प्रतिस्पर्धा हुँदै आएको छ।
जिल्ला अधिवेशनका लागि अहिले कञ्चनपुरमा गुट फेर्ने क्रम पनि चलेको छ। लामो समयसम्म नेता साउदसँग निकट रहेका कञ्चनपुरका कांग्रेस नेता पदम बोगटीले उनको साथ छोडेका छन्। बोगटी नेता लेखक पक्षमा पुगेर कञ्चनपुरको सभापतिमा उम्मेदवारी दिएका छन्। लेखक क्याम्पका उम्मेदवारसँग बोगटी १३औं महाधिवेशनमा पराजित भएका थिए। लेखक पक्षका हरि बोहराले बोगटीलाई हराएका थिए।
कञ्चनपुर पार्टी समितिका लागि बोगटीको नेतृत्वमा लेखक पक्षले प्यानल नै घोषणा गरिएको छ। लेखक प्यानलबाट दिवाकर पाण्डेय, शंकरबहादुर चन्दले उपसभापतिमा उम्मेदवारी दिएका छन्। सचिवद्वयमा सिद्धराज भट्ट र जनकसिंह धामी उम्मेदवार बनेका छन्। सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी नेता लेखक पक्षबाट प्रतिस्पर्धामा गर्ने भएका छन्।
साउद पक्षले कञ्चनपुरमा पूर्व सभापति तथा सांसद बहादुरसिंह थापालाई सभापतिको उम्मेदवार बनाएको छ। थापा पक्षले बिहीबार आफ्नो प्यानलको घोषणा गरेको हो।
हरिशचन्द्र राना र मीनबहादुर सिंहले उपसभापतिमा उम्मेदवारी दिने भएका छन्।, सचिवमा भीमराज भट्ट र हेमराज ओझाको उम्मेदवारी परेको छ। सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।