काठमाडौं– कोरोना भाइरस (कोभिड १९) महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका लागि भनेर १६ जना जनस्वास्थ्य विद्ले सरकारलाई १८ बुँदे सुझाव दिएका छन्।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आवद्ध जनस्वास्थ्य विज्ञले कोभिड महामारी व्यवस्थापन र सम्भावित तेस्रो लहरको प्रतिकारका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन्। जनस्वास्थ्य विद्हरु डा महेश मास्के, कुलचन्द्र गौतम, डा रीता थापा, डा बद्रीराज पाण्डे, डा अरुण उप्रेती, डा शिवकुमार राई, डा छत्र अमात्य, डा शरद वन्त, डा अभिनव वैद्य, डा समीर दीक्षित , डा राजेन्द्र बीसी, डा तिर्थ राना, डा लोचना श्रेष्ठ, डा विन्ज्वला श्रेष्ठ, डा रजनी शाह र नारायण सुबेदीले प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव दिएका हुन्।
विश्व स्वास्थ्य संगठनका महानिर्देशकले चेतावनी दिएअनुसार कोभिड १९ को खोपको वितरणमा समानता नभएको हुनाले आगामी वर्ष यो भाइरसका अझ धेरै भेरियण्ट उत्पन्न हुन सक्नेतर्फ जनस्वास्थ्य विद्हरुले प्रधानमन्त्रीको ध्यानाकर्ष गराएका छन्।
क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामै तेस्रो लहर आउने सम्भावना उच्च रहेको पनि उनीहरुले प्रधानमन्त्रीलाई दिएको सुझावमा उल्लेख गरेका छन्।
जनस्वास्थ्य विज्ञले सम्भावित तेस्रो लहरको प्रतिकारका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य वडा स्तरका स्वास्थ्यकर्मीका साथै स्थानीय समुदायको सक्रियतामा कोभिड १९को निगरानी सुदृढ गरिनुपर्ने सुझाव दिएका छन्।
यस्तै, बृहत् परीक्षण, कोभिड सम्पर्कमा आएका व्यक्तिहरु पत्ता लगाउने, आइसोलेशनलाई प्राथमिकता दिने र उपचार को अवश्यकता भएका लाइ तुरुन्त अस्पताल को व्यवस्था गरिनुपर्ने पनि उनीहरुको सुझाव छ।
संक्रमितको मृत्युको प्रमुख कारण अक्सिजनको कमी र उचित उपचारमा ढिलाइ हुनु भएको उल्लेख गर्दै जनस्वास्थ्यविद्हरुले अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा बढाइ शहरी क्षेत्रका प्रत्येक वडा र गाउँपालिकामा कोभिडका बिरामीहरुलाई सहयोग पुर्याउन अक्सिजन बैंक स्थापना गर्न पनि सुझाव दिएका छन्।
जनस्वास्थ्य विद्हरुले योग्यता, क्षमता, सत्यनिष्ठा र इमान्दारिताको छवि भएका व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
जनस्वास्थ्य विद्हरुले खोप खरिदमा मात्र ध्यान दिनुको अलावा नेपालले सहयोग गर्ने देशहरूको प्राविधिक सहयोगमा खोप उत्पादन गर्न सक्ने औषधि उत्पादक सस्था हरु संगको सहकार्य मा कोभिड-१९ खोपमा आत्मनिर्भर हुने दीर्घकालीन दृष्टिकोण राख्न जरुरी रहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।