काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसका संस्थापनइतरका तेस्रो पुस्ताका नेताहरूले आफ्नो पक्षले सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेका छन्।
सम्मानजनक हैसियतबिना सरकारमा जान नहुने विषय बैठकमा युवा पुस्ताका नेताले राखेका छन्। तीन जना मन्त्री बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले इतर पक्षबाट बनाएका छैनन्। संस्थापनइतरलाई छुट्याइएको मन्त्री संख्या पनि कम रहेको पार्टीमा चर्चा चलिरहेको छ।
संस्थापनइरबाट हालसम्म कसैलाई मन्त्री नबनाउनु तथा छुट्याउने मन्त्री संख्या पनि सम्माजनक नभए मन्त्रिमण्डलमा सहभागी हुन नहुने निर्णय गरिएको नेता गुरुराज घिमिरले बताए।
‘अर्को पक्षको हैसियत र प्रतिष्ठा अनुसार प्रधानमन्त्रीले मन्त्री छुट्याउनु भएन भने मन्त्रिमण्डलमा सामेल हुनु हुँदैन’, बैठकमा उठेका विषयबारे नेता घिमिरेले भने, ‘एकलौटी सरकार चलाउनलाई हामीले मार्ग प्रशस्त गर्नुपर्दछ।’ अर्को पक्षलाई कमजोर ठानेर मन्त्रीको भागवण्डा गरेमा अस्वीकार गर्नुपर्ने विचार बैठकमा उठेको छ।
महामन्त्री डा शशांक कोइरालाले सोमबार तेस्रो पुस्ताका नेतासँग गरेको छलफलमा उक्त निष्कर्ष निकालिएको हो। बैठकले वडा तहको अधिवेशन सुरु गरेर बीचमा तल्लो तहका अन्य अधिवेशन रोक्न नहुने सुझाव दिएको छ। ‘भदौबाट वडा अधिवेशन सुरु भएपछि निरन्तर तल्लो संरचनाको अधिवेशन हुनुपर्दछ। बीचमा रोक्न मिल्दैन’, बैठकमा उठेका धारणाबारे नेता घिमिरेले भने।
तेस्रो पुस्ताका नेताहरुको बैठकले संस्थापनइतरमा रहेर सभापतिमा दाबी गरेका सबै नेताहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएको छ। संस्थापनइतरको एकीकृत बल कायम राख्न युवा नेताहरूको सक्रियता बढाउने निर्णय पनि गरिएको छ।
क्रियाशील सदस्यता वितरणका क्रममा संस्थापन पक्षले धाँधली गरेको विषय क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरुङले उठाएका थिए। एक लाख भन्दा बढी क्रियाशील सदस्यता विधिभन्दा बाहिरबाट आएको उनको जिकिर थियो।
नवीकरण भएका क्रियाशील सदस्यमा संस्थागत धाँधली भएको उनको दाबी थियो। एक लाखमा क्रियाशील सदस्यमा कतै नाम थपेर र कतै खाली राखेर धाँधली गरिएको उनको जिकिर थियो। क्षेत्रबाट पहिले पठाएको सूची र केन्द्रले पठाएको सूचीको पुनरावलोकन हुनुपर्ने उनको भनाइ थियो।
दीपक गिरी, कमला पन्त, रत्ना शेरचन, गगन थापा, धनराज गुरुङ, सरिता प्रसाईं, बद्री पाण्डेय, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव, कल्याण गुरुङ, जीवन परियार लगायतका तेस्रो पुस्ता नेता बैठकमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।