काठमाडौं– नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीषक (आइजीपी)हरुले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको माग गरेका छन्।
बुधबार बालुवाटारस्थित निवासमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेको निर्णय खारेज गर्न माग गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई ‘डिस्टर्ब’ भएको तर्क गर्दै सो निर्णय गरिएको थियो।
‘नेपाल प्रहरीका लगभग असी हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्वप्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनात्मक सम्वन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा र प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति समेत राष्ट्रपति कार्यालयको सुविधा बढाउनका लागि तत्कालीन नेपाल सरकारले २०७५ भदौ २१ गते गरेको निर्णय अदूरदर्शी, अव्यावहारिक र पूर्णतः अवैज्ञानिक छ’, पूर्वआइजीपी मोतीलाल बोहराले नेपाल लाइभसँग भने, ‘हामीले त्यही निर्णय खारेज गर्न प्रधानमन्त्रीज्यूसमक्ष माग गरेका छौं।’
बहालवाला तथा लाखौं पूर्वप्रहरी कर्मचारीहरुको मनोवल एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको सो निर्णय खारेज गर्न १४ जना पूर्वआइजीपीहरुले बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र बुझाएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।